विराटनगर । मारवाडी युवा दिवसको अवसरमा आयोजित साताव्यापी कार्यक्रमको समापन भएको छ। मारवाडी युवा मञ्च विराटनगरले मानव सेवा आश्रमलाई नगद सहित विभिन्न सामग्री सहयोग गरेर सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको हो । विराटनगर महानगरपालिका वडा नं. ३ स्थित आश्रममा बुधवार साँझ आयोजित एक कार्यक्रमका बिच ५५ जना ज्येष्ठ नागरिक र ९ जना बालक गरी ६४ जनालाई मिष्टान्न भोजन गराउँदै सहयोग हस्तान्तरण गरिएको हो । मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले आश्रमको व्यवस्थापनका लागि नगद १० हजार रुपैयाँ, आवश्यक खाद्यान्न, न्यानो कम्मल र प्लास्टिकका बाल्टिनहरू हस्तान्तरण गरिएको जानकारी दिए ।
उनका अनुसार, एक हप्तासम्म चलेको कार्यक्रमलाई भव्य समापन गरिएको हो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवाल र राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी राजन शर्मा लगायत प्रशासनिक अधिकारीहरूको उपस्थिति रहेका थिए । 
नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय सह–कोषाध्यक्ष फुलकुमार लालवानी, मारवाडी युवा सङ्गठनका केन्द्रीय उपाध्यक्ष गोपाल अग्रवाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्द किशोर राठी, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला र मारवाडी महिला मञ्चकी अध्यक्ष सरिता लालवानी लगायतले आश्रमको सेवा कार्यमा ऐक्यबद्धता जनाएका थिए ।
कार्यक्रममा राजनीतिक एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरू विनोद बस्नेत, कृष्ण कार्की, शतिश दुगड, बेनीगोपाल मुन्दडा, चम्पालाल राठी र कार्यक्रम संयोजक पवन पङ्कज पारख लगायतको सहभागिता रहेको थियो । मारवाडी युवा मञ्चले यस साताव्यापी उत्सव अन्तर्गत टोपी दिवस, शान्ति पद यात्रा, रक्तदान, नेत्र दान जागरूकता अभियान र न्यानो कम्मल वितरण जस्ता सामाजिक कार्यहरू गरेको छ । एक हप्तासम्म सांस्कृतिक कार्यक्रम देखि विभिन्न अभियानहरू सञ्चालन गरेको मञ्चले आश्रममा आश्रितहरूलाई मिष्टान्न भोजन गराउँदै कार्यक्रमको औपचारिक समापन गरेको लालवानीले बताए ।