सुनसरी । हरिनगर गाउँपालिकाले शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।
पछिल्ला दिनहरूमा केही स्थानमा देखिएका तनाव र असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गाउँपालिकाले कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न नहुन सबैलाई अपिल गरेको हो।
गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाको हस्ताक्षरित अपिलमा हरिनगर बहुधार्मिक, बहुसांस्कृतिक र विविध परम्पराले भरिएको समुदाय रहेको उल्लेख गर्दै आपसी विश्वास, सम्मान र सहकार्यकै माध्यमबाट सामाजिक एकता कायम गर्नुपर्नेमा जोड दिइएको छ। अपिलमा कुनै पनि घटना वा गतिविधिका कारण सम्पूर्ण समुदायलाई दोषारोपण गर्नु गलत हुने स्पष्ट पारिएको छ।
अपिलमा भनिएको छ, “हिंसा, उक्साहट र घृणा कुनै पनि धर्म, संस्कृति वा परम्पराको मूल्य होइन।” स्थानीय सरकार शान्ति सुरक्षा, कानुनको पालना तथा सबै नागरिकको समान हक र सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको पनि जनाइएको छ।

गाउँपालिकाले नागरिकहरूलाई अपुष्ट सूचना, अफवाह वा घृणाजन्य अभिव्यक्तिमा विश्वास नगर्न तथा सामाजिक सञ्जाल र सार्वजनिक व्यवहारमा जिम्मेवार रहन आग्रह गरेको छ। साथै धार्मिक स्थल, सार्वजनिक सम्पत्ति र सामाजिक सद्भावमाथि आँच पुर्याउने कुनै पनि गतिविधि नगर्न अनुरोध गरिएको छ। कुनै समस्या, असहमति वा गुनासो भए संवाद र कानुनी माध्यमबाट समाधान खोज्नुपर्ने उल्लेख गर्दै कानुन हातमा लिने कार्य अस्वीकार्य हुने स्पष्ट गरिएको छ।
अपिलमा स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, धार्मिक अगुवा, नागरिक समाज तथा राजनीतिक दलहरूबीच सहकार्य गर्दै शान्ति कायम राख्न निरन्तर पहल भइरहेको जनाइएको छ।
साथै धार्मिक अगुवा, युवा, आमा समूह, शिक्षक, बुद्धिजीवी तथा सञ्चार माध्यमलाई संयमित, जिम्मेवार र सकारात्मक सन्देश प्रवाह गर्न विशेष आग्रह गरिएको छ।
अन्त्यमा अपिलमा “शान्ति बिना विकास सम्भव छैन” र “सद्भाव बिना समृद्धि टिक्दैन” भन्ने सन्देश उल्लेख गर्दै सबै मिलेर हरिनगरलाई शान्त, सुरक्षित र एकताबद्ध बनाउन आह्वान गरिएको छ।

















