विराटनगर । कोशी प्रदेश सरकारको आज पुनर्गठन हुने भएको छ ।

सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता गर्दै नयाँ मन्त्रीहरूलाई आज सरकारमा पठाउने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । श्रोतका अनुसार आज बेलुका सम्ममा मन्त्री मण्डल पुनर्गठन हुने छ । कोशी प्रदेश मा एमाले र काङ्ग्रेसको संयुक्त सरकार छ । 


 सरकारमा रहेका मुख्यमन्त्री बाहेक सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी भएको श्रोतले जनाएको छ । एमालेबाट विदुर लिङथेप, चिन्तन पाठक, इन्द्र मणि पराजुली, रामप्रसाद महतो र उमाकान्त गौतम मन्त्री हुँदै छन् ।

यस्तै काङ्ग्रेसबाट प्रदीप सुनुवार, भीम पराजुली र मानबहादुर लिम्बु, शोभा चेम्जोङ र इस्राइल मन्सुरी मन्त्री बन्ने श्रोतले जनाएको छ । 

अहिले एमालेबाट कोशी  प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री राम राना, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँच कर्ण राई, राज्यमन्त्री सिर्जना राई सरकार मा सहभागी रहेका छन्।


त्यस्तै नेपाली काङ्ग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हङ्गामा सरकारमा सहभागी रहेका छन्।


अहिले बहालवाला मन्त्रीहरू सबै फिर्ता बोलाउन नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र नेकपा एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मत कार्कीका बिचमा सहमति भएको छ ।