विराटनगर । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ। काठमाडौंबाट ५१ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ५५ जना बोकेर उडेको बुद्ध एयरको एछपआर ७२ (उडान नम्बर ९०१) जहाज शुक्रबार राति करिब ९:१० बजे अवतरणका क्रममा रनवेबाट बाहिर पुगेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार, काठमाडौंबाट राति ८:२३ बजे उडेको उक्त जहाज चन्द्रगढी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रनवेको पूर्वतर्फ 'ओभर रन' भई करिब ३०० मिटर अगाडि पुगेर भासिएको छ। जहाज भासिएका कारण केही क्षतिग्रस्त भएको उनले जानकारी दिए।
मानवीय क्षति नभएको पुष्टि
घटनालगत्तै एसपी राजन लिम्बूकै नेतृत्वमा ७० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। जहाजमा सवार सबै ५१ जना यात्रु र ४ जना चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ, एसपी लिम्बूले भने । अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन, सबै यात्रुहरू सुरक्षित छन् ।
अहिले घटनास्थलमा सुरक्षाकर्मीहरूले उद्धार कार्यलाई पूर्णता दिँदै विमानस्थलको सुरक्षा व्यवस्था कडा पारेका छन्। रातिको समय भएकाले थप प्राविधिक निरीक्षण र जहाजलाई हटाउने प्रक्रियाबारे छलफल भइरहेको छ। जहाज रनवेबाट निकै अगाडि पुगेर भासिएकोले विमानस्थलको उडान सेवा र प्राविधिक अवस्थाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

















