विराटनगर । उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले पहिचानको मुद्दा छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको भन्दै तीव्र आलोचना भइरहँदा उज्यालो नेपाल कोशी प्रदेश समितिले एकताको स्वागत गरेको छ ।
उज्यालो नेपाल १ नम्बर नम्बर प्रदेश तदर्थ कमिटीले विज्ञप्ति निकाल्दै आम नागरिकको परिवर्तनको चाहानालाई यथार्थमा रूपान्तरण गर्न पार्टी एकीकरण भएको जनाएको छ । तदर्थ कमिटीका अध्यक्ष एवीराज आङ्दम्बे र प्रवक्ता केदार धिमालले हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तिमा पुराना भ्रष्ट प्रतिगामी तथा यथास्थिति शक्तिहरूलाई परास्त गर्न पार्टी एकीकरण भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सु संस्कृत पार्टी निर्माणमा प्रतिबद्धता समेत व्यक्त गरिएको छ । पुस १४ गते उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहका बिचमा पार्टी एकीकरण गर्ने सहमति भएको थियो ।
सहमति पछि कोशी प्रदेशमा रहेका उज्यालो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूले सङ्घीयता, धर्म निरपेक्षता र पहिचानको पक्षमा मौन रहेको भन्दै एकीकरणको विरोध गरेका थिए । उज्यालो नेपाल पार्टीले गठन कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा गठन गरेको जिल्ला स्थित तदर्थ समितिमा अधिकांश पहिचानको आन्दोलनबाट आएका नेताहरू सहभागी भएका थिए । उनीहरूले रास्वपा सँग एकीकरण गरेर पहिचानको मुद्दा बिसाएको आरोप लगाउँदै नेताहरू प्रति आलोचना गरिरहेका छन् ।
कार्यकर्ताको आलोचना पछि पहिचानको आन्दोलनबाट स्थापित हुँदै उज्यालो नेपाल पार्टीमा केन्द्रीय सदस्य भएका डकेन्द्र सिंह थेगिमले एकता नमान्ने बताएका थिए । यस्तै रास्वपाको समानुपातिक सुचीमा रहेका प्रोफेसर डा महेन्द्र लावतीले पनि सङ्घीयता धर्म निरपेक्ष र पहिचानको मुद्दामा स्पष्ट धारणा आउनु पर्ने माग राखेका थिए ।
प्रदेश नम्बर १ तदर्थ समितिले एकीकरणको स्वागत गरेपछि पहिचानको आन्दोलनमा सहभागी भएका नेताहरू सो पार्टीमा पनि एक्लिएका छन् ।
















