विराटनगर ।  प्रहरीले विराटनगरमा सञ्चालनमा रहेको  क्यासिनोमा गए राती छापा मार्दा २० जना पक्राउ परेका छन् । विराटनगरमा रहेको गोल्डेन कोइन क्यासीनो र च्याम्पियन जोन क्यासीनोमा प्रहरीले छापा मारेको हो । राती छापा मार्दा  गोल्डेन कोइन नामक क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
प्रहरीले छापा मार्दा  क्यासिनोमा नेपालीहरू भेटिएकाले पक्राउ गरिएको कटवालले बताए । उनले भने क्यासीनोमा नेपाली प्रवेश निषेध छ । निषेध भएको ठाउँमा प्रवेश गराएको देखिएकाले व्यवस्थापक सहितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । 
पक्राउ परेका अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।  ‘क्यासिनोमा छापा हानेर पक्राउ गरेकाहरूमाथि ‘स्कृनिङ’ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ  । कटवालले भने  केहीले ‘हामी कर्मचारी हौँ’ भनेका छन् । कर्मचारी भन्नेहरूको परिचयपत्र खोज्दैछौं । ‘स्कृनिङ’ गरिसकेपछि मात्रै कति जनाविरुद्ध मुद्दा चल्छ भन्ने यकिन हुन्छ,’ उनले भने । प्रवेश निषेध रहेको क्यासिनोमा नेपाली छिरेर निर्बाध रूपमा जुवाजन्य खेल खेल्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा हानेको जानकारी एसपी कटवालले दिए ।