विराटनगर । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । दशैको लगत्तै सफारी चालक दिनेश कुमार चौधरीको गोली हानी हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा पछाडि सुटरसहित ७ जनालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले घटनाका मुख्य योजनाकार समेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पुरानो रिसिइबिका कारण चौधरीको हत्या भएको हो । पक्राउ पर्नेहरूमा राजेश साह, नन्दकिशोर साह , मोहम्मद इव्रान मिया, अङ्कित साह, प्रिन्स कुमार दास, गियास मन्सुरी र मिथिलेश यादव रहेको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्याको मुख्य कारण व्यक्तिगत दुस्मनी रहेको खुलेको छ। पक्राउ परेकामध्ये राजेश साहको मृतक चौधरीसँग पुरानो रिसइबी रहेको र सोही रिसइबी साँध्न राजेशले हत्याको योजना बनाएको पाइएको छ। हत्याका लागि राजेशले ६ लाख ५० हजार रुपैयाँ सुपारी दिएर सुटरलाई हत्या गर्न लगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजेशले मोहम्मद इव्राइम मियाँलाई हत्याको लागि सुपारी दिएका थिए । प्रहरीका अनुसार राजेशले चौधरीको हत्याका लागि ३ लाख रुपैयाँ समेत पेस्की दिएको पाइएको छ ।