विराटनगर । कोशी नदीको त्रिवेणीमा भएको यात्रुवाहक पानीबोट दुर्घटनाबारे गठित छानबिन समितिले आफ्नो प्रतिवेदन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष पेश गरेको छ।
प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा गठित समितिले शुक्रबार मुख्यमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएको हो। कोशी प्रदेश मन्त्रिपरिषद्को २०८३ कात्तिक १० गतेको निर्णयअनुसार दुर्घटनाको वास्तविकता पत्ता लगाउन समिति गठन गरिएको थियो।
धनकुटा, भोजपुर र उदयपुर जिल्लाको संगमस्थल त्रिवेणीमा कात्तिक ५ गते बराह त्रिवेणी जलयातायात प्रालिको नाममा सञ्चालित यात्रुवाहक ओबीएम पानीबोट दुर्घटनामा परेको थियो। घटनापछि प्रदेश सरकारले दुर्घटनाको कारण र त्यसमा सम्बन्धित निकायको भूमिकाबारे छानबिन गर्न समिति बनाएको थियो।
समितिले दुर्घटनास्थलको स्थलगत अध्ययन, सरोकारवालासँग छलफल तथा प्राप्त कागजात र प्रमाणहरूको अध्ययन एवं विश्लेषण गरेर प्रतिवेदन तयार पारेको जनाएको छ।
प्रतिवेदनमा दुर्घटनाको घटनाक्रम र कारण, पानीबोटको प्राविधिक तथा सञ्चालन अवस्था, सम्बन्धित निकायहरूको भूमिका र उद्धार तथा राहत व्यवस्थापनको अवस्थाबारे उल्लेख गरिएको छ। त्यस्तै, आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन नीतिगत, कानुनी तथा संस्थागत सुधारका उपाय र सुझावसमेत समेटिएको समितिले जनाएको छ।
समितिले प्रतिवेदनमा प्रस्तुत गरेका निष्कर्ष र सुझाव कार्यान्वयनका लागि आवश्यक निर्णय तथा निर्देशन दिन प्रदेश सरकारलाई अनुरोध गरेको छ।











