विराटनगर। कोशी प्रदेश योजना आयोगले तयार पारेका दुई वटा अध्ययन प्रतिवेदन उद्योग, कृषि तथा सहकारी मन्त्रालयलाई हस्तान्तरण गरेको छ । आयोगका उपाध्यक्ष तारानाथ निरौलाले उद्योग कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोलाई हस्तान्तरण गरेका हुन्।
मन्त्रालयलाई चिया परीक्षण प्रयोगशालाको स्थलगत अध्ययन प्रतिवेदन तथा कोशी प्रदेशमा कफी, अल्लो र अगरु खेतीको सम्भावनासम्बन्धी अध्ययन प्रतिवेदन बुझाइएको छ। पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मोरङको गोठगाउँस्थित गिरिजाप्रसाद कोइराला कलेज अफ एग्रीकल्चर एन्ड रिसर्च सेन्टरसँग भएको सम्झौताअनुसार ती अध्ययन गरिएको आयोगले जनाएको छ। आयोगले गरेको अध्ययन कार्यान्वयनका लागि मन्त्रालयलाई हस्तान्तरण गरिएको अयोगका उपाध्यक्ष निरौलाले जानकारी दिए।
हस्तान्तरणका क्रममा आगामी चिया सम्मेलन अगावै चिया परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने विषयमा उपाध्यक्ष निरौलाले जोड दिएका छन्। प्रयोगशाला सञ्चालनमा ल्याउन प्राविधिक उपकरणको लागि न्यूनतम १४ देखि अधिकतम २२ लाख रुपैयाँसम्मको उपकरण खरिद गर्नुपर्ने र कम्तीमा चार जना प्राविधिक जनशक्ति आवश्यक पर्ने प्रतिवेदनले औँल्याएको उपाध्यक्ष निरौलाको भनाई छ।
मन्त्रालयले प्रतिवेदन आजै बुझेसँगै अबको एक महिनाभित्र कार्यान्वयनको प्रगतिबारे आयोगले जानकारी लिने तथा एक महिनाभित्र जनशक्ति व्यवस्थापन र खरिद प्रक्रिया अघि बढाइसक्न मन्त्री महतोलाई भनिएको छ।
आयोगले हस्तान्तरण गरेको अध्ययन प्रतिवेदनलाई कार्यान्वयनमा लैजान मन्त्रालयले तत्काल प्रक्रिया अघि बढाउने मन्त्री महतोले प्रतिबद्धता जनाएका छन्। विशेष गरी चियाको प्रमाणीकरण, प्रयोगशाला तथा परीक्षणसम्बन्धी कामलाई अघि बढाउन स्रोत सुनिश्चित गर्ने र इलाममा भइरहेको लगानी तथा प्रमाणीकरणको प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयमा पनि जोड दिइएको थियो ।
नेपालको मुख्य चिया उत्पादक क्षेत्र इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा करिब १३ करोड ९० लाखको लागतमा निर्मित अत्याधुनिक चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र होटलका नाममा लिजमा दिन सम्झौता भएपछि यस बारेमा आयोगले अध्ययन थालेको थियो।
चियाको गुणस्तर परीक्षण गरी अन्तर्राष्ट्रिय बजारसम्म नेपाली चियाको साख बढाउने उद्देश्यले निर्माण गरिएको यो संरचनालाई स्थानीय तहले व्यापारिक स्वार्थका लागि निजी क्षेत्रलाई सुम्पेको थियो।
सूर्योदय नगरपालिका–७ कन्याममा निर्मित यस संरचनामा अत्याधुनिक चिया परीक्षण प्रयोगशाला (ल्याब)सँगै अन्तर्राष्ट्रिय खरिदकर्ता (बायर्स) हरूलाई राख्नका लागि सुविधा सम्पन्न ‘होटल शैली’ को गेस्ट हाउस निर्माण गरिएको छ। संरचना भित्रका कोठाहरूमा डबल बेड, एटाच्ड बाथरुम, फल्स सिलिङ र रिसेप्सन लगायतका उच्चस्तरका सुविधाहरू छन्।
यद्यपि, प्रदेश सरकारको ठुलो लगानीमा बनेको यो सम्पत्तिलाई चिया प्रवर्धनमा लगाउनुको साटो स्थानीय सूर्योदय नगरपालिकाले वार्षिक भ्याट बाहेक २५ लाख रुपैयाँ मात्रै बुझाउने गरी १० वर्षका लागि निजी फर्मलाई लिजमा दिने सम्झौता गरेको छ। यसलाई अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला बनाउन र त्यसको लागि आवश्यक पर्ने कर्मचारी व्यवस्थापन गर्नको लागि प्रतिवेदनले गरेको सिफारिससँगै आयोगले तत्काल कार्यान्वयनमा लग्न भनेको हो।
कार्यक्रममा योजना आयोगका सदस्यहरू, आयोगकी सचिव निता शर्मा, कृषि मन्त्रालयकी निमित्त सचिव डा. दीपा दियालीलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

















