सुनसरी- चुलाचुली स्पोर्टिङ क्लब हर्क साम्पाङ फुटबल कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इटहरी रंगशालामा शुक्रबार भएको खेलमा धनकुटाको रारा फुटबल क्लब राजारानीलाई सडेनडेथमा १–० ले पराजित गर्दै चुलाचुलीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टीमा समेत बराबरी भएपछि सडेनडेथबाट चुलाचुली विजयी भएको हो ।
नौ टिम सहभागी प्रतियोगितामा शनिबार इटहरीको राष्ट्रिय जागृति क्लब र उदयपुरको ब्रदर्शहुड क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।











