सुनसरी । मोरङको बेलबारीमा रहेको कबिर माध्यमिक विद्यालयले अदालतको आदेशको अवज्ञा गरेको छ । विद्यालयले गत भदौ १० गते व्यवस्थापन समितिको बैठकको निर्णय भन्दै प्रावि तहका शिक्षक विष्णुकुमारी खतिवडा र तृतीय श्रेणीका शिक्षक खेमबहादुर पराजुलीलाई हटाएको थियो । उनीहरूलाई बेलबारी नगरपालिकाको कार्यालयमा हाजिर हुन भन्दै पत्र थमाइएको थियो । त्यसबिरुद्ध उनीहरूले गत असोज २४ गते उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए । उच्च अदालत विराटनगरका न्यायधिस प्रकाश खरेलको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न, नगराउन विद्यालयको नाममा अल्पकालीन आन्तरिक आदेश जारी गर्दै असोज ३० गते दुवै पक्षलाई छलफलको लागि बोलाएको थियो । aadesh

उच्च अदालतका न्यायधीश गणेश ठाकुर र पूर्णप्रसाद राजवंशीको संयुक्त इजलासले असोज ३० गते दुवै शिक्षकलाई पुनर्बहाली गराउन आदेश समेत दिएको थियो । अदालतको आदेशमा भनिएको छ , निवेदकलाई बेलबारी नगरपालिकामा हाजिर हुन जानुभनि भदौ १० गते गरेको निर्णयमा कुनै खास कारण उल्लेख नगरेको देखिएको र निवेदकलाई सफाईको कुनै मौका समेत नदिई गरेको निर्णय एवंम पत्राचार तत्काल कार्यान्वयन नगर्नु नगराउनु । 

adalat 2

तर विद्यालयले अदालतको आदेशको अहिलेसम्म पनि कार्यान्वयन नगरेको पीडित शिक्षक खेम बहादुर पराजुलीले बताएका छन् । पराजुलीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले अदालतको आदेश आएको एक महिना हुन लाग्दा समेत पूर्वाग्रही रुपमा हाजिर गर्न नदिएर अदालतको मानहानी गरेको बताए । विद्यालयका प्रधानाध्यापक अभय लिम्बुले शिक्षकहरूलाई हाजिर गराउन अदालतले आदेश दिए पनि विभिन्न कारणले कार्यान्वयन गर्न नसकिएको स्विकारे ।