सुनसरी । विराट गोल्डकपले गत वर्ष भएको फूटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरेको छ । 

विहीवार पत्रकार सम्मेलन गरी विराट गोल्डकप आयोजक समितिले फूटबल प्रतियोगितामा भएको खर्च र आम्दानीको हिसाब सार्वजनिक गरेको हो । बिगतका वर्षहरुमा घाटामा सञ्चालय भइरहेकोमा यो वर्ष भने आयोजक समितिले मुनाफा आर्जन गरेको छ । गत वर्षको फूटबल प्रतियोगिताबाट आयोजकले दुई लाख ९४ हजार तीन सय ७४ रूपैयाँ बचत गरेको छ । 

आयोजकले प्रतियोगिताको प्रायोजकबाट ५० लाख ४८ हजार सात सय ४० रूपैयाँ, प्रदेश खेलकुद विकास बोर्डबाट पाँच लाख ९२ हजार ४५, सामाजिक विकास मन्त्रालयले चार लाख ९२ हजार पाँच सय, पूर्व मुख्यमन्त्री उद्धव थापाको सांसद विकास कोषबाट चार लाख ९३ हजार तीन सय १०, विराटनगर महानगरपालिकाबाट १४ लाख ८२ हजार नौ सय ९२, राष्ट्रिय खेलकुद परिषदबाट दुई लाख ९५ हजार पाँच सय , टिकट बिक्रीबाट २३ लाख नौ हजार पाँच सय र अन्य आम्दानी छ हजार छ सय रूपैयाँ गरी जम्मा एक करोड सात लाख २१ ह्जार एक सय ९७ रूपैयाँ आम्दानी गरेको छ । 


मैदान मर्मत गर्न एक लाख ६८ हजार चार सय ३५ रूपैयाँ, मैदानको बत्तिमा ४६ हजार पाँच सय, बिजुलीमा ३० हजार दुई सय ७५, स्टेशनरीमा दुई लाख २४ हजार नौ सय २२, कम्प्युटर मरमतमा पाँच हजार ९९, डिजलमा एक लाख ७९ हजार सात सय ८० रूपैयाँ खर्च भएको आयोजकले जनाएको छ ।


 विज्ञापनमा एक लाख ६३ हजार सात सय ९२, रेफ्री लगायतमा तीन लाख चार हजार, नगद पुरस्कारमा १६ लाख ५५ हजार, खाना र खाजामा एक लाख ३४ हजार नौ सय ७०, खेलाडीको यातायात खर्चमा सात लाख ८७ हजार तीन सय ३६, खेलाडीको बसाई र खानामा २६ लाख एक हजार, प्रचार प्रसारमा दुई लाख ४७ हजार सात सय रूपैयाँ खर्च भएको छ । 

 प्रतियोगितामा जम्मा  खर्च एक करोड चार लाख २६ हजार आठ सय १३ रूपैयाँ भएको छ ।