सुनसरी । प्रहरीका लागि बनाइएको अस्थायी संरचनाबाट सुनसरीको सीमा क्षेत्रमा खटिँदै आएको सशस्त्र प्रहरीको बसन्तपुर बीओपीले आफ्नै भवनबाट काम थालेको छ । २०६५ सालमा सुरक्षा बेस क्याम्पका रूपमा स्थापित सशस्त्र प्रहरीको उक्त युनिट २०७५ मा बीओपीमा रूपान्तरण भएको थियो ।

जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको सशस्त्र प्रहरीको बसन्तपुर बीओपी नयाँ भवनको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले उद्घाटन गरेका छन्।

नेपाल–भारत सीमाको दशगजाबाट ५ सय मिटर भित्र पर्ने उक्त बीओपीको नयाँ भवन सशस्त्र प्रहरीले ५ कट्ठा जग्गा खरिद पश्चात् निर्माण गरी सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल ४ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले बताए।

१ करोड ७० लाख ५२ हजार २५२ रुपैयाँमा निर्माण सम्पन्न नयाँ भवन उद्घाटनसँगै बाहिनीपति न्यौपानेले निरीक्षण समेत गरेका छन् । भवन उद्घाटन पश्चात् सम्बोधन गर्ने क्रममा नम्बर १ बाहिनीका बाहिनीपति न्यौपानेले सशस्त्र प्रहरीले सीमा क्षेत्रका स्तम्भको रेखदेख, राजस्व संकलन र चोरी–तस्करी नियन्त्रण जस्ता कार्यलाई प्राथमिकतामा राख्दै आएको बताएका छन् ।

भवन अभाव झेलेको युनिटले नयाँ कार्यालयबाट उच्च मनोबलका साथ काम गर्ने विश्वास व्यक्त गर्दै न्यौपानेले गलत कार्यमा मातहत कसैको संलग्नता भेटिए कारबाही गर्ने बताएका छन् ।

कार्यक्रममा नम्बर ४ गण मुख्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जिल्लाको सीमा क्षेत्रको अवस्था र सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाबारे जानकारी गराएका थिए । थापाका अनुसार नम्बर ४ गण सुनसरी मातहत २ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र ९ वटा बोर्डर आउट पोस्ट (बीओपी) गरी ११ युनिट रहेका छन् ।