विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जेनजी आन्दोलन पछि अवरुद्ध भएका सडकहरू हटाउन थालेको छ । अझै काम गर्ने अवस्था सहज नभए पनि आम नागरिकलाई परेका तत्कालका समस्यालाई समाधान गर्ने गरी कामहरू सुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ । जेनजीको नाममा विराटनगरको भाटभटेनी नजिकै डिभाइडरहरू राखेर सडक अवरुद्ध गरेका थिए । त्यस्तै प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अस्तव्यस्त पारेको सडक सरसफाइको काम थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । उनका अनुसार, अहिले सबै ठाउँमा ट्राफिक प्रहरीले पूर्ण रूपमा काम गर्न सक्ने अवस्था नरहेकोले सरसफाइ र अवरुद्ध खुलाउने कामहरू भइरहेको छ ।

पोस्टमा गएर डिउटीमा खटिन सक्ने अवस्था नभएकोले अवरुद्ध भएका सडकहरूलाई खुलाउने काम मात्रै भएको उनले बताए । उनले सबै मिलेर विराटनगरको ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन् ।