विराटनगर । मोरङ कारागारमा एक महिला कैदी मृत अवस्थामा फेला परेका छिन् । मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेका कैदी राधा भट्टराई बुधवार बिहान शौचालयमा मृत अवस्थामा फेला परेको कारागार प्रशासनले जनाएको छ।

उनी  उनले विगतमा आफ्ना दुई सन्तानसहित सप्तकोसीमा हाम्फाल्दा एक नवजात शिशुको मृत्यु भएको विषयमा उनीमाथि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएकी कारागार कार्यालयले जनाएको छ।

दुई सन्तान सहित आफू पनि सप्तकोसीमा  हाम्फालेकोमा राधा र उनका एक सन्तानलाई स्थानीयले उद्धार गरेका थिए भनेँ एक सन्तानको मृत्यु भएको प्रहरीले जनाएको  छ ।

सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर २ घर भएकी भट्टराई  शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको कारागार प्रशासनले जनाएको छ। 

२०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा रहेकी उनलाई जिल्ला अदालत सुनसरीले २० वर्ष कैद सजाय सुनाएको थियो ।

मृतकलाई केही समयदेखि मानसिक समस्या रहेको जानकारीमा आएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘अस्ति तीजको अवसरमा कार्यक्रममा म पनि त्यहाँ पुगेको थिएँ, त्यति बेला पनि उनलाई सम्हालेर राख्नुपरेको थियो ।’ घटनाबारे अनुसन्धान भइरहेको र परिवारलाई खबर गरिएको प्रजिअ यादवले बताए ।