सुनसरी । कोसी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको सञ्चारसम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले उल्टो हिडेर विरोध जनाएका छन् ।

आईतबार नेपाल प्रेस युनियन कोशी प्रदेश समितिको नेतृत्वमा भेला भएका पत्रकारहरुले प्रदेश सभा नजिककै रहेको देवकोटा चौकदेखी कारागार सम्म उल्टो हिँडेर विरोध जनाएका हुन । 

कोसी प्रदेश सरकारले सञ्चार विद्येयक मार्फत प्रेस स्वतन्त्रतालाई सिमित गर्न खोजेको भन्दै पत्रकारहरुले मुख र हातमा कालोपट्टि बाँधेर सांकेतिक रुपमा विरोध जनाएका हुन । 

विरोध कार्यक्रममा नेपाल प्रेस युनियन सहित अन्य पत्रकार संगठनहरुको पनि सहभागिता रहेको थियो । 

नेपाल प्रेस युनियन कोसीका अध्यक्ष मीनकुमार श्रेष्ठले पत्रकारलाई दण्ड, सजाय र सञ्चार सामग्री प्रकाशन प्रसारण बन्द गराउने जस्ता प्रावधानलाई स्वीकार गर्न नसकिने बताए ।

सरकारले ल्याएको सञ्चारा विद्येयक उल्टो बाटो हिड्न खोजेको भन्दै त्यसैको सांकेतिक रुपमा उल्टो हिँडेर विरोध गरिएको स्पष्ट पारे । 

गत ६ गते शुक्रबार कोसी प्रदेशसभामा विद्येयकको विरोधमा पत्रकारहरुले धर्ना दिएका थिए । सो क्रममा प्रहरीले धर्नामा बसेका पत्रकारहरुलाई हटाउन खोजेपछि केहीबेर घम्साघम्सी भएको थियो ।