विराटनगर । ‘सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ४ का अजय चौधरी र इनरुवा नगरपालिका ७ का शनी चौधरीलाई काठमाडौँको कपिल म्यानपावरले साउदी पठाउँछ । जनही २ लाख ५० हजार तिरेर साउदी अरब पुगेका उनीहरूलाई त्यहाँ पुगेपछि अलपत्र पार्ने काम भयो । परिवारले उद्धारको लागि आव्हान गर्दा जनही ४ लाख लाग्ने बताइएको छ।’  बिहीबारको कोसी प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्य सपना दर्जीले वैदेशिक रोजगारीमा गएका यी दुई युवाको दर्दनाक उदाहरण सुनाइन्  ।  प्रदेश सभाको शून्य समयमा बोल्ने क्रममा दर्जीले अहिले पनि यस्ता धेरै युवा विदेशमा अलपत्र परेको बताइन्  ।  वैदेशिक रोजगारीका नाममा भएका ठगी र यसबाट त्यो परिवारमा परेको असरको पीडा धेरै रहेको भन्दै उनले वैदेशिक रोजगार विभागमा गत आर्थिक वर्षमा ४ हजार ९ सय ७४ उजुरी परेको समेत तथ्याङ्क प्रस्तुत गरिन् । उनले भनिन्, ‘वैदेशिक रोजगार विभागमा पछिल्लो आर्थिक वर्षमा ४ हजार ९ सय ७४ उजुरी परेकोमा ५२८ उजुरी मिलापत्रबाट टुङ्गिएको, २१५ उजुरी अदालतमा कानुनी प्रक्रियामा छन् ।’  यसरी उजुरी परेका युवाहरूको सपना चकनाचुर भएको, युवाहरू ऋणको बोझका कारण उनीहरूको घर परिवार प्रतिको विश्वास समेत गुम्दै गएको बताइन्  ।  यस्ता ठगी कार्य रोक्नका लागि अहिलेसम्म दीर्घकालीन योजना बनाएर प्रदेश तहमा नै कानुनी कारबाहीको लागि अघि बढ्न उनले माग गरिन्  ।  प्रदेश स्तरीय निगरानी संयन्त्र बनाउन, सचेतना गाउँ गाउँमा पुर्‍याउन  समेत उनको माग छ । 

सीमा नाकामा पैसा माग्छन्

अर्का प्रदेश सभा सदस्य लखी कुमारी गणेशले काँकडभिट्टा नाकामा सुरक्षा निकायले पैसा माग्ने गरेको गुनासो आएको बताइन् । उनले नागरिकले अनावश्यक दुःख पाइरहेको बताइन्  । उनले त्यहाँ  सुरक्षाकर्मीले सर्वसाधारणलाई सामान्य सामान लिएर आउँदा पनि दुख दिएर असजिलो बनाएको बताइन्  ।  ‘कतिपय अवस्थामा अपमानजनक व्यवहार, अनावश्यक ढिलासुस्ती, अतिरिक्त पैसा माग्ने गरेको गुनासो आएको छ,’ उनले भनिने,  ‘कहिलेकाहीँ कठोर भाषा शैली र धम्की समेत दिने गरेको सुन्नमा आएको छ।’ व्यक्तिगत प्रयोगका सामान्य सामानलाई पनि रोक्ने र लामो समय थुनेर राख्ने, फिर्ता पाउन घुमाइफिराई गर्ने अवस्थाहरू आएको उनको भनाई छ । 

533128880_3317136621778701_1927984139002150799_n नागरिकलाई सास्ती दिने प्रवृत्तिले प्रदेश सरकारको छवि माथि प्रश्न उठेको मात्रै नभई अन्तर्राष्ट्रिय नाका भएको कारण समग्र  राष्ट्रको छवि माथि नै प्रश्न उठिरहेको उनको जिकिर छ। उनले भन्सारमा जनमैत्री सेवा सुनिश्चित, यात्रुलाई सम्मान जनक व्यवहार, नाकामा हुने चेकिङ प्रक्रिया पारदर्शी बनाउनु पर्ने, कुन सामानको कति भन्सार तिर्ने भन्ने बारेमा स्पष्ट सूचना बोर्ड, उजुरी पेटिका राख्नु पर्ने, दोहोरो झन्झटको अन्त्य गरी सुधारको काम थाल्न सरकारसँग माग राखिन् । अर्की सांसद सबिना बजगाईँले अहिले लागु औषधको दुब्र्यसनीका कारण युवाहरूमा ठुलो समस्या देखिएको जानकारी गराइन् । उनले आफू काँकडभिट्टाबाट  प्रदेश सभाको बैठकमा सहभागी हुन आउँदै गर्दा एक युवा लागु औषधको नशामा डुबेको देखेको जानकारी गराउँदै यस्ता विषयमा प्रहरी प्रशासनले कडा कदम चाल्न नसकेको बताइन् । 

सरोकारवालासँग छलफल गरी यसको न्यूनीकरणको लागि लाग्न आग्रह गर्दै उनले काँकडभिट्टा नाकामा लागु औषधको कारोबार हुने गरेको जानकारी दिइन् । उनले  धेरै राम्रा, गन्ने मान्ने र  ठुला पार्टीका व्यक्तिहरू नै लागु औषध बिक्रीकर्ता रहेकोले छानबिन गर्न माग गरिन् ।  प्रदेश सभा सदस्य मिना श्रेष्ठ, तारादेवी ढकाल, गम्बु शेर्पा लगायतले समसामयिक विषयमा धारणा राखेका थिए।