विराटनगर । यस वर्षको श्री राधाकृष्ण रथयात्रामा भक्तजनलाई १ लाख पिस चकलेट, ७० हजार बुनियाको प्याकेट, ४० हजार चिउरा–मखानाको प्याकेट तयार पारिएको छ। आयोजक समितिले मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीको संयोजकत्वमा प्रसाद व्यवस्थापन उप–समिति बनाएको थियो । लालवानीको संयोजकत्वको टोलीले प्रसादको लागि आवश्यक पर्ने सबै सामाग्री तयार पारेको जनाएको छ। मञ्चका अनुसार, भक्तजनलाई १ लाख पिस चकलेट, ७० हजार बुनियाको प्याकेट, ४० हजार चिउरा–मखानाको प्याकेट साथै स्याउ, नास्पाती र केरा वितरण गरिनेछ । यसका लागि रथयात्रा मार्गमा युवाको विशेष टोली परिचालन गरेर व्यवस्थित वितरण गरिने लालवागीले बताए ।
विराटनगर–१ पानीटंकीस्थित राधाकृष्ण मन्दिर परिसरबाट ९४ वर्षअघि खट यात्रा सुरु भएको यो पछि विस्तार भई २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो । यस वर्ष जीर्ण भइसकेको पुरानो रथ विस्थापित गर्दै १४ फिट चौडा, १९ फिट लामो र २१ फिट अग्लो नयाँ रथ निर्माण गरिएको छ ।त्यही रथ आज निकालिँदै छ।
रथ विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर दूरी तय गर्नेछ । नेपाल र भारतका करिब पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको यो रथयात्रा एसियाको जगन्नाथ पुरीपछि दोस्रो ठुलो मानिन्छ । रथयात्रामा नेपाल र भारतका ५ लाखभन्दा बढीले रथयात्राको अवलोकन गर्ने आयोजकको दाबी छ ।