विराटनगर । कृष्ण जन्माष्टमीको अवसरमा विराटनगरस्थित राधाकृष्ण मन्दिरमा शनिबार भक्तजनको ठूलो भीड लागेको छ । भोलि आइतबार निस्कने रथयात्राका लागि आजै नयाँ रथको विशेष पूजा सम्पन्न गरिएको छ । भिडलाई ब्यवस्थापन गर्न सुरक्षा ब्यवस्था कडा पारिएको छ। कृष्ण जन्माष्टमीकाे दिन पुजा गरिएको रथलाई भाेली पल्ट विराटनगरमा रथ यात्रा निकाल्ने परम्परा रहेकाे छ । विराटनगरमा आईतवार भाेली रथयात्रा निस्कँदै छ ।
विराटनगर महानगरपालिका वडा नम्बर १ को राधाकृष्ण मन्दिरबाट निस्कने यो रथयात्रा एसियाको जगन्नाथ पुरीपछि दोस्रो ठूलो मानिन्छ । रथ यात्रामा नेपाल र भारतका करिब पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।
रथ विराटनगर बजारका ४४ स्थानमा विश्राम गर्दै करिब ९ किलोमिटर दूरी तय गर्नेछ । १९८८ सालमा ‘खटयात्रा’का रूपमा सुरु भएको यो २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो । जीर्ण भइसकेको पुरानो रथ विस्थापित गर्दै यस वर्षदेखि १४ फिट चौडा, १९ फिट लामो र २१ फिट अग्लो नयाँ रथ प्रचलनमा ल्याइएको छ ।
मोरङ प्रहरीले रथयात्रामा हुने भीडलाई लक्षित गर्दै विशेष सुरक्षा तयारी गरेको छ । प्रहरीका अनुसार, अनुसार शसस्त्र प्रहरी, जनपथ प्रहरी, अनुसन्धान र सादा पोशाकमा समेत गरी १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । भक्तजनलाई सुरक्षाको दृष्टिले अमूल्य गरगहना नलगाई आउन समेत आग्रह गरिएको छ ।
काेशी प्रदेश सरकारले भाेली सार्बजनिक विदा दिएकाे छ ।