विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मारवाडी युवा मञ्च विराटनगरले मंगलबार नयाँ अभ्यासको शुरुवात गर्दै १२ घण्टामा १२ सामाजिक कार्यक्रम सम्पन्न गरेको छ। मंगलवा  बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म विराटनगरका विभिन्न स्थानमा गरिएको गतिविधिले मञ्चले स्थानीय सामाजिक अभियानमा नयाँ ऊर्जा भरेको छ।

मञ्चका अध्यक्ष मोहित लालवानीका अनुसार कार्यक्रमको सुरुवात ‘टि टाइम’ बाट भएको थियो। त्यसपछि आमाको माया छात्रावासमा ब्रेकफास्ट, आमाको सेवामा चिया–कुकिज वितरण, नरसेवा नारायण सेवा संस्थाद्वारा कोशी अस्पतालमा भोजन सेवा अवलोकन, आँखा परीक्षण शिविर, वृद्ध आमाका लागि कोसेली, औषधि वितरण, वृक्षारोपण, वयोवृद्धसँग आशीर्वाद ग्रहण, र मानव सेवा आश्रममा भोजन सेवा सञ्चालन गर्दै अन्तिमतिर पत्रकारसँग अन्तरक्रियासम्म दिनभरि गतिविधि चल्यो।

अन्तरक्रिया कार्यक्रममा मञ्चका पदाधिकारीहरूले विराटनगरका दुई क्यासिनोमा मारवाडी युवाको बढ्दो आवतजावतप्रति चिन्ता व्यक्त गर्दै तत्काल नियन्त्रणको माग पनि राखे। उनीहरूको भनाइमा, भारतीय आइडी कार्डको प्रयोगमार्फत सहजै क्यासिनो प्रवेश हुनुले समुदायको आर्थिक र सामाजिक संरचनामा नकारात्मक असर पारेको छ। यस विषयमा प्रशासनले छानबिनपछि मात्र प्रवेश अनुमति दिनुपर्ने उनीहरूको धारणा छ।

नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठकले युवालाई उद्यम, रोजगारी र उत्पादनमुखी क्षेत्रमा जोडिन प्रोत्साहन गर्नुपर्ने सुझाव दिइन्।