विराटनगर । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस (जुलाई ३०) को अवसरमा माइती नेपाल विराटनगरले मानव अधिकार सञ्जाल विराटनगरको सहकार्यमा विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विराटनगरमा क्रियाशील विभिन्न संघ–संस्था तथा सञ्जालका सदस्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरू गरी २२ जनाको सक्रिय सहभागिता रहेको थियो। मान वेच विखन विरुद्धको अभियानलाई ब्यापक बनाउनकोलागि कार्यक्रमको आयोजना गरिएको माइती नेपाल मोरङका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए ।
छलफलमा माइती नेपालको तर्फबाट मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसको महत्व, संस्थाको कार्ययात्रा, अनुभव तथा हाल देखिएका चुनौतीहरूबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी अन्य संघसंस्थाका प्रतिनिधिहरूले मानव बेचबिखनको जोखिम, रोकथामका उपाय र अपराधविरुद्ध सहकार्यको सम्भावनाबारे आ–आफ्ना विचार प्रस्तुत गरे।
मानव बेचबिखनजस्तो गम्भीर अपराध न्यूनीकरणका लागि सरोकारवाला निकायहरूबीच आपसी सहकार्य, जानकारी आदानप्रदान तथा साझा रणनीति आवश्यक रहेकोमा सहभागीहरूले धारणा राखेका थिए । माइती नेपालले यस्ता छलफल कार्यक्रमहरूले साझा समझदारी निर्माण गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा मानव बेचबिखनविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता जनाएको छ।