इटहरी । पहिलो राष्ट्रिय कोबुदो विशेष किहोन सेमिनार इटहरीमा भव्यताका साथ सम्पन्न भएको छ ।
साउनको ८ र ९ गते दुई दिन सम्म चलेको सेमिनारमा प्रशिक्षकहरूले कोबुदोका विभिन्न विधा तथा परम्परागत युद्धकलाहरूको प्रदर्शन गर्नुका साथै व्यावहारिक तालिम पनि प्रदान गरिएको थियो ।
जापानका विश्वप्रसिद्ध ओल्ड ग्रान्ड मास्टर गिवो गियु (न्ष्दय न्ष्थग) तथा उनका छोरा गिवो केन्तो सहित १२ जना वरिष्ठ अन्तर्राष्ट्रिय प्रशिक्षकहरू सहभागी भएका थिए । नेपालका विभिन्न जिल्लाहरुबाट प्रशिक्षक तथा खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले खेलकुद क्षेत्रमा राज्यको अपेक्षित सहयोग नपुगेको स्वीकार गर्दै अब कोशी प्रदेश सरकारले खेलकुद प्रवद्र्धनका लागि विशेष कार्यक्रम तथा नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले खेलकुदलाई स्वास्थ्य, अनुशासन र सामाजिक परिवर्तनको आधारका रूपमा लिइनुपर्ने कुरामा जोड दिए ।
ग्रान्ड मास्टर गिवो गियुले नेपाल–जापान बीचको मित्रता लामो समयदेखि सुमधुर रहेको बताउँदै कराते मार्फत दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संविधानसभा सदस्य किरण कुमार राई, रा.खे.प. वरिष्ठ प्रशिक्षक कालु मेचे, योगेन्द्र चाम्लिङ, नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलन कुमार प्रसाईं, कोशी संयोजक तथा ब्प्ँ प्रशिक्षक प्रभाकर राना मगर, रा.खे.प प्रशिक्षक मीना पाठक लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
‘शान्ति, मित्रता र एकता’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको सेमिनारको सञ्चालन गणेश कटवालले गरेका थिए । कार्यक्रम मदन कुमार उप्रेतीको सभापतित्वमा सपन्न भएको थियो ।
सेमिनारमा सहभागी प्रशिक्षक तथा खेलाडीहरूले कोबुदोको मौलिक ज्ञान, अनुशासन र प्रविधि सिक्ने अवसर पाए आयोजक संस्थाका गणेश कटवालले जानकारी दिए ।