सुनसरी । सिधाकुरा अनलाइनले प्रशारण र प्रकाशन गरेको डार्क फाइल रिपोर्टमा फेक अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ परेका छन ।

प्रहरीको फरार सूचीमा रहेको तिमल्सिनालाई इलाका प्रहरी कार्यालय इटहरीले आइतबार साँझ कार्यलय परिसरबाटै पक्राउ गरेको हो ।  

‘सिधाकुरा डटकम’ ले ‘डार्क फाइल’ का नाममा प्रसारण गरेको अडियो सामग्री ‘फेक’ भएको सर्वोच्च अदालतले ठहर गरेको थियो । सो मुद्दामा सर्वोच्चले तिमल्सिनालाई दोषी ठहर गर्दै गत असोज १३ गते ६ महिना कैद सजायको फैसला गरेको थियो । तर उनी फरार रहेका थिए । 

आइतबार श्रीमतीको एउटा मुद्धाकोे छलफलका लागि तिमल्सिना इलाका प्रहरी कार्यालय इटहरीमै पुगेका थिए । त्यहाँ उनले प्रहरीलाई आफ्नो बास्तबिक नाम उल्लेख नगरी अर्कै नाम बताए । 

तर शंका लागेपछि प्रहरीले थप सोधपुछ गर्दा उनी डार्क फाइल रिपोर्टका फरार प्रतिवादी रहेको पुष्टी भएपछी पक्राउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए  ।

सञ्चार माध्यममा यो डार्क फाइलको अडियोले सनसनी मच्चाएको थियो । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्ममी र पत्रकार समेतलाई लाञ्छित गरी फेक अडियो बनाएको प्रकरण अदालत सम्म पुगेको थियो । 

 सो मुद्दामा ‘सिधाकुरा डटकम’ ले ‘डार्क फाइल’ का नाममा प्रसारण गरेको अडियो सामग्री ‘फेक’ भएको सर्वोच्च अदालतले ठहर गरेको थियो । सर्वोच्चको ९ सदस्यीय बृहत् पूर्ण इजलासले अदालतको अवहेलना भएको भन्दै उत्पादक तथा प्रसारकहरूलाई कैद सजाय सुनाएको थियो ।

 प्रयोगशाला परीक्षणमा समेत ‘फेक’ प्रमाणित भएको अडियो बनाउने तिमिल्सिनालाई ६ महिना कैद र त्यो प्रसारण गर्ने ‘सिधाकुरा डटकम’ का युवराज कँडेल र नवीन ढुंगानालाई ३÷३ महिनाको कैद सजाय सुनाएको थियो । 

त्यस्तै, ‘सिधाकुरा’ अनलाइनलाई ५ हजार जरिवाना हुने पनि फैसला गरेको थियो । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल सहितको बृहत् पूर्ण इजलासको  फैसला बमोजिम ढुंगाना र कँडेललाई केन्द्रीय कारागार चलान गरिएको थियो ।

काल्पनिक सामग्री उत्पादन गरी प्रसारण गर्न दिएको कसुरमा तिमिल्सिनालाई ‘न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम ६ महिना कैद सजाय हुने’ बृहत् पूर्ण इजलासले फैसला गरे लगत्तै तिमल्सिना फरार भएका थिए ।

उनलाई आजै काठमाण्डौ लैजाने तयारी गरिएको इलाका प्रहरी कार्यलय प्रहरीले जनाएको छ ।