विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको दोस्रो पूर्ण बैठकको सर्कुलर जारी गरेको छ । केही दिन अघि बसेको बैठकले गरेका निर्णयहरू सहितको सर्कुलर जारी गरेको हो । कमिटीका अध्यक्ष बलराम गिरीको अध्यक्षता, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेको प्रमुख आतिथ्य, प्रदेश कमिटी सचिवालय सदस्य तथा महानगर इन्चार्ज परशुराम बस्नेत, जिल्ला उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, उपसचिव सन्तोष वान्तवाको विशेष उपस्थिति रहेको बैठकले सङ्गठन सुदृढीकरण, जनप्रतिनिधिसँगको समन्वय, लेखा परीक्षण, बजेट, कार्य योजना र सदस्य मनोनयनजस्ता विषयमा महत्त्वपूर्ण निर्णय गरेको थियो ।
बैठकमा विगतमा सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूको समीक्षा गर्दै कमिटीको कार्यशैली, जिम्मेवारी र सक्रियतामाथि सकारात्मक चर्चा गरिएको थियो। पार्टीको प्रथम बैठकयता आयोजना गरिएका कम्युनिस्ट पार्टी स्थापना दिवस, मदन–आश्रित स्मृति दिवस, गणतन्त्र दिवस, मदन भण्डारी जयन्ती, राष्ट्रिय धान दिवस र मनमोहन जयन्तीजस्ता अवसरमा आयोजित रक्तदान, विचार गोष्ठी, वृक्षारोपण, दीप प्रज्वलन, वक्तृत्वकला प्रतियोगिता तथा रोपाइँ कार्यक्रमजस्ता अभियानहरूलाई सफल र उदाहरणीय भनिएको छ।
बैठकमा पार्टी र जनप्रतिनिधिबिचको सम्बन्धलाई अझ सुदृढ बनाउन महानगर तथा वडा तहमा हरेक तीन महिनामा अन्तर संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको महानगर कमिटीका सचिव विज्ञान चापागाईँले जानकारी दिए । साथै, हालै सम्पन्न अन्तर संवाद कार्यक्रमबाट प्राप्त सुझाव र जनअपेक्षालाई पार्टी काममा समावेश गर्न विशेष जोड दिइएको छ।
सङ्गठन विस्तारको सन्दर्भमा बैठकले पार्टीको सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तल्लो तहसम्म पुर्याउने, प्रत्येक वडामा मतदाताको कम्तीमा ३ प्रतिशतलाई सङ्गठित सदस्य बनाउने लक्ष्य लिएको छ। यसै गरी, पार्टीको आर्थिक अनुशासन र पारदर्शिता कायम राख्न जनप्रतिनिधि र कमिटी पदाधिकारीहरूले निश्चित रकम मासिक लेवी स्वरूप पार्टी खातामा जम्मा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय गरिएको छ।
बैठकमा पार्टी महानगर कमिटीको पहिलो अधिवेशनदेखि हालसम्मको लेखा परीक्षण प्रतिवेदन अनुमोदन गरिएको छ। त्यसै गरी, वार्षिक कार्य योजना, कार्यपालिका र बजेट २०८२ पारित गरिएको छ। मातहतका सबै कमिटीहरूलाई पनि भदौ मसान्तसम्म आफ्ना कार्य योजना, कार्यपालिका र बजेट निर्माण गरी अनुमोदनका लागि महानगरमा पठाउन निर्देशन दिइएको सचिव चापागाईँले बताए ।
वडा अधिवेशन २०८२ श्रावण २० भित्र सम्पन्न गर्ने र यसको आवश्यक निर्णय लिने अधिकार महानगर सचिवालयलाई दिने निर्णय पनि बैठकले गरेको छ। वडा कमिटी र जनसङ्गठनहरूको रिपोर्टिङ सन्तोषजनक पाइए पनि कार्यान्वयनमा अझ बढी सक्रियता देखाउन निर्देशन दिइएको छ।
बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको हालसम्मको कामको समीक्षा गरी आगामी योजना तय गर्न ‘समृद्ध विराटनगर कार्य योजना २०८२’ निर्माणका लागि कार्यदल गठन गरिएको छ। कार्यदलको संयोजकमा अध्यक्ष बलराम गिरी, सदस्य–सचिवमा सचिव विज्ञान चापागाईँ रहने छन् भने पालिका दल प्रमुख र उपप्रमुख सदस्य रहनेछन्। अन्य सदस्य र विज्ञको मनोनयन गर्ने अधिकार संयोजकलाई दिइएको छ।
पार्टीलाई चलायमान र गतिशील बनाउने उद्देश्यले पार्टी विधानअनुसार केही सदस्यमा मनोनयन गर्दै कमिटीको कार्य विभाजनसमेत गरेको छ।
बैठकले पारित गरेका निर्णयहरू कार्यान्वयन गर्न सबै तहका कमिटी र पदाधिकारीहरूलाई सक्रियता र जिम्मेवारीपूर्वक लाग्न निर्देशन दिइएको छ।