सुनसरी । फुलिएर अजङ्गको पेट, हाडछालाको शरीर र मलिन अनुहार लिएर ओछ्यानमा ढलिरहेका ४० वर्षिय रोशन राई जीवनमरणको दोसाँधमा छन् ।

 धरान ८ अरुणटोल स्थित सुकुम्बासी बस्तीमा सानो झुपडीमा रहेका उनको यो हालत हेर्दा यो समय उनी अस्पतालमा हुनुपर्ने हो । तर, श्रीमति र छोरीले उनको उपचार गर्न सक्ने अवस्था नभएपछि उनी घरमै यस्तो अवस्थामा बस्नु परेको हो । 

चारकोशे झाडीबाट दाउरा ल्याएर धरानमा बेचेर उनको परिवार धानिएको थियो । उनी बिहानै जङ्गल छिर्थे, साँझ दाउराको भारी बोकेर धरान बजारमा बेच्थे । त्यही कमाईले उनको तीन जनाको परिवार चलेको थियो । श्रीमति शान्ति तामाङ घरको काम गर्थिन् कहिलेकाँही रोशनलाई सघाउँथिन । छोरी शिवानी राई ११ कक्षा पढ्दै थिइन् ।

बैशाखदेखि उनलाई जण्डिस्ले सतायो, मृगौलामा पथरीया देखियो । उनी बिस्तारै थलिँदै गए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराए । तर, बिसेक भएन, लगातार अस्पताल धाए ।

रिपोर्ट आयो चिकित्सकले कलेजो फेर्नुपर्ने बताए । मृगौलाको पथरीया शल्यक्रिया गर्नुपर्ने सुझाए । औषधी लेखिदिए बचेको पैसाले औषधी किनेर खाए तर, चिकित्सकले भनेझै उपचार गर्न उनीसँग पैसा थिएन । 

चिकित्सकले लिभर फेर्नुपर्छ १५ लाख जति खर्चहुन्छ भनेका छन् । त्यत्रो रकम कसरी निकाल्नु र घर चलाउनै गाहे भइरहेको छ, उनकी श्रीमति शान्ति तामाङ बताउछिन् ।

पैसा अभावकै कारण अहिले लिभरको ट्यावलेट बाहेक अन्य कुनैपनि औषधी खुवाउन नसकेको उनी बताउँछिन् ।  उपचार गर्न लैजाउँ पैसा छैन, बिरामीको स्याहारका लागि आमाले समय दिनु पर्ने भएपछि आफ्नो पढाईलाई समेत असर परेको छोरी शिवानीले बताइन् ।   

मंगलबार बिहान राई निवासमा पुगेका मजदुर नेता भीमज्वाला राईसँग कुराकानी गर्दै श्रीमानलाई निको बनाउन सकिए कमसेकम दाउरा बेचेरै भएपनि जीवन चलाउन सकिन्थ्यो, छोरीलाई दुःख गरेर पढाउन सकिन्थ्यो कि शान्ति दु :ख सुनाइन । आफ्नो श्रीमानको उपचारमा सहयोग गरिदिन श्रीमति शान्तिले विनय गरेको मजदुर नेता राईले जानकारी दिए ।  

राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अभियान सञ्चालन गरेको छ । पिडित परिवारलाई सहयोग गर्न राईले सबैलाई आग्रह गरेका छन् ।  यदि सिधै पीडित परिवारलाई सहयोग गर्न चाहनेले शान्ति तामाङको मोबाइल नम्बर ९७०८२५५३११ मा समेत सम्पर्क गरेर सहयोग गर्न सकिने संगठनका केन्द्रीय अध्यक्ष समेत नेता राईले बताए ।