विराटनगर । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा धरान १६ मा भएको श्रमदान भएका बेला बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ  । श्रमदानका बेला १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो । 

पीडितका परिवारले खगेन्द्रविरुद्ध किटानी जाहेरी दिएका छन् ।

किटानी जाहेरीपछि धरान १७ पृथ्वीचोकका राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले बताए । धरान बहुभाषिक पाठशाला निर्माणको श्रमदान चलिरहेको बेला बालिकामाथि यौन दुर्व्यवहार गरेको राईमाथि आरोप छ ।


पक्राउ परेका राई श्रमदाताहरूलाई खाना पकाउने काममा खटिएका थिए । बालिका आफ्नी आमासँग श्रमदानमा आएकी थिइन् । त्यही क्रममा राईले बालिकालाई फकाएर खोल्सातिर लगी हातपात गर्न खोजेको आरोप छ । घटना भएको बेला मेयर भने थिएनन् ।

पीडकलाई भगाउन सहयोग गरेको भन्दै अन्य दुईजनाविरुद्ध पनि किटानी जाहेरी परेको छ । श्रमदाता कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । घटनाको दिन राईलाई पीडितकी आमाले कुटपिट समेत गरेकी थिइन् ।


पीडित परिवारका सदस्यले भने, ‘हामीले प्रहरी बोलाउन खोज्दा कुन्दन श्रेष्ठले श्रमदाता मानसिक रोगी हुन्, यस्तालाई कुटेर केही फाइदा छैन, उल्टै बच्चीको बदनाम हुन्छ । छोरी मान्छे हो, पछि बिहे नहुन पनि सक्छ, यस्तो कुरा लुकाउनु पर्छ भने ।’

श्रेष्ठले सामान्य विषयले श्रमदानको बेइज्जत हुन्छ भन्दै घटना प्रहरीसम्म पुग्न नदिएको परिवारको भनाइ छ ।

पाठशालामा खोलाले कटान गरेपछि मेयर साम्पाङको नेतृत्वमा तारजाली लगाउन श्रमदान अभियान चलिरहेको छ । उपभोक्ता समिति बनाएर बिल लगिएपछि उपमेयर आइन्द्रविक्रम बेघाले रकम निकासा रोक्दा त्यहाँको श्रमदान विवादमा समेत परेको थियो ।


यही विषयले मेयर(उपमेयरको विवाद बढेपछि धरानले नयाँ बजेट पनि ल्याउन सकेको छैन ।