धरान । धनकुटाको मुलघाटबाट खटिएको प्रहरी टोलीले बुधबार कोशी लोकमार्गमा जाँचका क्रममा ६ केजी लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

 साँगुरीगढी गाउँपालिका–१, लावरबोटेस्थित कोशी लोकमार्गमा भोजपुरबाट धरानतर्फ आउँदै गरेको को १ ख ७२४० नम्बरको यात्रुबाहक बस जाँच गर्दा ताप्लेजुङ, मौवाखोला गाउँपालिका–६ घर भएका ४१ वर्षीय बुद्धिमान गुरुङले बोकेको झोलाबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गुरुङले साथमा राखेको जेब्राको झोलामा करिब ६ केजी गाँजा फेला परेको हो। बरामद गरिएको गाँजासहित गुरुङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।