विराटनगर । उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा सुरु हुँदै छ। सङ्घीयतालाई संस्थागत गर्न उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन पहिलो पटक विराटनगरमा हुन लागेको हो ।  विराटनगर महानगरपालिकाको आयोजनामा  आज र भोली (जेठ २३ र २४ गते) वीरेन्द्र सभागृहमा सम्मेलन हुने छ । 
दुई दिने सम्मेलनमा न्यायिक समितिबाट निरूपण हुने विवाद तथा मुद्धाहरुलाई थप प्रभावकारी बनाउन अन्तरपालिका अनुभव आदान प्रदान गर्ने, वार्षिक योजना तर्जुमा र योजना तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षको भूमिका बारेमा थप स्पष्टता ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन्। उनले भनिन्, ‘स्थानीय सरकारको आन्तरिक राजस्व वृद्धिमा उपप्रमुख तथा उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने, सङ्घीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिकामा थप स्पष्टता ल्याउने विषयमा छलफल हुनेछ।’ 
स्थानीय तहहरूबाट नागरिकलाई उपलब्ध गराउने सेवा प्रवाह लगायत विकास निर्माणका कार्यहरूको अनुभव आदानप्रदान,  विद्यमान कानुनमा भएका अस्पष्टता र बाझिएका कानुनहरू संशोधनका लागि घोषणापत्र तयार गरी सघिय सरकार तथा प्रदेश सरकारलाई सुझाव दिइने कार्कीले बताइन्  । 
सम्मेलनमा महानगरपालिका, उप महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरू सहभागी हुने भनिएको छ। मौसममा आएको बदलीका कारण सबै सहभागी हुन समस्या देखिएको छ ।  
दुई दिने सम्मेलनमा तीन वटा  कार्यपत्र प्रस्तुत हुने प्रस्तुत हुने र कार्यपत्रमाथि प्यानलिस्टहरूले आ आफ्नो धारणा राख्दै छलफल गरिनेछ । संवैधानिक व्यवस्थामा न्यायिक समितिको भूमिकाको विषयमा काशीराज दाहाल, वित्तीय सङ्घीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिकाको विषयमा डाक्टर गोपी खनाल र स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उपप्रमुख उपाध्यक्षको भूमिकाको विषयमा रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सम्मेलनमा ६महानगरपालिका, ११ उपमहानगरपालिका,  कोसी प्रदेशका १३७ वटा पालिका र मधेस प्रदेशका ७३ वटा र बाग्मती २१ वटा नगरपालिका तथा बाँकी ५ वटा प्रदेशबाट  समेत गरी २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरू आउने भनिएको छ। धेरै पालिकाका उपप्रमुखहरू विराटनगर  आइसकेको महानगरपालिकाले जनाएको छ। कोसी प्रदेशमा विराटनगर एक मात्र महानगरपालिका हो ।