सुनसरी । प्रत्येक वर्ष वर्षा याममा बाढी र डुबानको चपेटामा पर्ने सुनसरीका स्थानीय तहहरुको ध्यान बिपद व्यवस्थापनको पूर्व तयारीमा जान सकेको छैन ।
यस वर्षको मनसुन सुरु भइसक्दा पनि यस वर्ष कतिपय पुलपुलेसा, बाटोघाटो निर्माणको काम नसकिने अवस्थामा छन् । यसले गर्दा स्थानीयलाई बाढी तथा डुबानको त्रास थपिएको छ ।
वर्षा याममा बर्सेनि बाढीको समस्या झेल्दै आएका सुनसरीका विभिन्न क्षेत्रमा यस वर्ष पनि खोलाले स्थानीयको घर कटान सुरु गरेको छ । पूर्वी क्षेत्रबाट यस वर्षको मनसुन भित्रिएको भोलिपल्टै शुक्रवार राती परेको भारी बर्षातले धरानका खहरे सहित अधिकांश खोला नजिकका बस्तीहरूमा क्षति पुर्याएको छ ।
सर्दु, सेउती, शेरा खोला छेउका वडाहरू १३, १६, १५, ५, ६, १७, ८ र वडा २० मा कराडौको क्षति पुगेको धरान उपमहानगरपालिका उपप्रख अईन्द्र विक्रम बेघाले जानकारी दिए ।
सुनसरीको करम खोलाले इनरुवा र हरिनगर क्षेत्रमा कटान सुरु गरेको छ । सप्तकोसी नदीको कटानले प्रत्येक वर्ष त्रसित वराहक्षेत्रका स्थानीय यसबर्ष पनि ढुक्क हुन नसकेको स्थानीय बाबुराम कार्कीले बताए ।
कोसी, भोक्राहनरसिंह, हरिनगर, देवानगञ्ज, बर्जू गाउँपालिकाका स्थानीय प्रत्येक वर्ष बाढी तथा डुबानको समस्यामा पर्ने गरेका छन् । इटहरी, दुहबी, रामधुनी नगरपालिकाका स्थानीय तहका नागरिकले विगतका वर्षमा थुप्रै डुबान र बाढीको सामना गरेका थिए ।
यी स्थानीय तहहरू बिपद व्यवस्थापनको तयारीमा जुट्न सकेका छैनन् । बिपत व्यवस्थापनको पूर्व तयारीमा स्थानीय तहहरू जिल्ला प्रशासन कार्यालयको भर परेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले सबै स्थानीय तहका प्रमुख तथा सरोकारवाला निकायहरूको सहभागितामा चाडै बैठक बसेर छलफल गर्ने तयारी गरिएको जानकारी दिए ।
स्थानीय तहहरूबाट आफूले रिपोर्टिङ लिइरहेको र तयारीमा जुटेको बताउने गरेको मिश्रले बताए ।
समयमै गर्नुपर्ने विपद् व्यवस्थापनको पूर्व तयारीमा हेलचेक्र्याइँ गर्दा यस वर्ष पनि बाढीले क्षति पुर्याउन सुरु गरेको इटहरीका स्थानीय शिवराज दाहालको आरोप छ ।
स्थानीय तहहरू बर्षिक नीति तथा कार्यक्रमको तयारीमा व्यस्त भएकाले पनि बिपत व्यवस्थापनको पूर्व तयारीमा कम ध्यान गएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताए ।
गत वर्ष सुनसरीका विभिन्न स्थानीय तहमा ३ हजार बढी घरपरिवार बाढी तथा डुबानबाट प्रभावित भएका थिए ।
उनीहरूलाई विश्व खाद्य कार्यक्रमको सहयोगमा स्थानीय तहहरूले राहत वितरण गरेका थिए ।