विराटनगर । विराटनगर महानगरले नियमित रूपमा बजार अनुगमन गर्न थालेपछि बजारको बेथितिमा सुधार आउन थालेको छ । विराटनगर महानगरले बजार निर्देशिका बनाएपछि नियमित रूपमा बजार अनुगमन थालेको हो । 
निर्देशिका बन्नु अघि चाडबाडका बेला मात्रै अनुगमन भएको भन्दै उपभोक्ताहरूले महानगरका बारेमा गुनासो गर्दै आएका थिए । बजारमा म्याद गुज्रिएका खाद्य वस्तुहरू, लेबलिङ नभएका सामानहरू,भेटिन्थ्यो । 

यसका कारण उपभोक्ताहरूलाई समस्यामा पारेको थियो । विराटनगरमा सञ्चालित होटलहरूको अवस्था पनि चिन्ताजनक थियो । फलफूल र तरकारीको गुणस्तरमा समेत गिरावट आएको थियो।
यस्तो अवस्थामा विराटनगर महानगरपालिकाले यो समस्यालाई सम्बोधन गर्न निर्देशिका नै बनाएर नियमित अनुगमन थालिएको महानगरले जनाएको छ । 

विराटनगर महानगरका उप मेयरको संयोजकत्वमा अनुगमन समिति छ । उप मेयरले अरू पनि विषयमा अनुगमन गर्नु पर्ने भएकाले महानगरले राजश्व महाशाखाका प्रमुख सरोज गौतमको संयोजकत्वमा खाद्य अनुगमन समिति बनाएको छ ।

सो समितिले सबै विषयगत कार्यालयका प्रतिनीधिहरुको सहभागितामा बजार अनुगमन गर्ने गरेको छ । 
विराटनगर महानगरपालिका  राजश्व महाशाखा प्रमुख सरोज गौतमका अनुसार नियमित रूपमा बजारमा अनुगमन हुन थालेपछि करको दायरामा आउनेको सङ्ख्या बढेको बताए । उनले विराटनगरमा तीन वर्षको अवधिमा तीन हजार बढी करदाता थपिएको बताए ।
 
अनुगमनको अभावमा बजारमा बेथिति बढेको भन्दै चर्को आलोचना बढेपछि बजारमा सुशासन कायम गर्न महानगरले नियमित बजार अनुगमन थालेको हो । खाद्य अनुगमन समितिले  अनुगमनका क्रममा म्याद गुज्रेका , लेवलिंग भए नभएका सामानको निरीक्षण गर्ने गर्छ । यस्तै समितिले होटलहरुमा भएको सरसफाइको समेत अनुगमन गर्ने गर्छ । 


समितिले फलफूल र तरकारीमा प्रयोग हुने विषादीको समेत अनुगमन गर्ने गरेको छ । यो बाहेक ढक तराजुको समेत अनुगमन गरी समस्या देखिए कारबाही गर्छ । 
अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालयका समेत प्रतिनिधिहरू रहेका छन् ।

यस्तै उपभोक्ता हित संरक्षण समिति र विभिन्न सङ्घ संस्थाका समेत खाद्य अनुगमन समितिमा सदस्य छन् । उनीहरू नियमित रूपमा अनुगमनमा जाँदा समस्या देखिएका २७ वटा पसलहरूलाई सचेत गराउँदै पत्र समेत काटिएको छ । ६ वटा पसलहरू सामान समेत बरामद भएको महानगरले जनाएको छ । 

अनुगमनका क्रममा व्यवसायको दर्ता नवीकरण समेत हेर्ने गरिएको छ । जसका कारण महानगरको आन्तरिक राजश्व वृद्धिमा समेत सहयोग पुगेको छ ।  विराटनगरमा उप मेयर शिल्पा कार्कीले बताइन् । उनका अनुसार महानगरले थालेको नियमित बजार अनुगमन बाट सकारात्मक परिवर्तन देखिन थालेको छ ।