सुनसरी । ह्याकरले बैङ्क खाता ह्याक गरी सेवाग्राहीको १३ लाख बढी रकम चोरी गरेका छन् । 
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ८ निवासी उमनाथ खतिवडाको प्राइम बैङ्क र नेपाल बैङ्क लिमिटेडको खातामा रहेको १३ लाख ५० हजार रकम चोरी भएको हो ।

शुक्रवार राती ८ बजेको समयमा खतिवडाको विराट चौक शाखामा रहेको दुई वटा बैङ्क खातामा रहेको १३ लाख ५० हजार रकम ह्याकरले कनेक्ट आइ.पी.एस मार्फत चोरी गरेका हुन । 

ह्याकरले खतिवडाको प्राइम बैङ्कमा रहेको बचत खाता नम्बर ०३६०१००००००००४८२०१५७ र नेपाल बैङ्क लिमिटेडको २५३०४००७२९३६६३०००००९ खाताबाट तीन वटा फरक बैङ्क खातामा रकम ट्रान्सफर गरेका छन् । 

शुक्रवार राती ८ बजेको समयमा रकम ट्रान्सफर भएको म्यासेज आएपछि आश्चर्यमा परेका खतिवडाले राती नै इलाका प्रहरी कार्यालय इटहरीमा खाताबाट रकम चोरी भएको उजुरी दिएका छन् । 
खतिवडाको उजुरीका आधारमा अनुसन्धानलाई अगाडी बढाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

ह्याकले खतिवडाको कनेक्ट आई.पी.एस ह्याक गरी प्राइम बैङ्कको खाताबाट माछापुच्छ्रे बैङ्कको खाता नम्बर ०२७०९९७५०४५०००१५ मा ११ लाख रकम ट्रान्सफर गरेका छन् । 

 यस्तै नेपाल बैक लिमिटेडको खाताबाट नविल बैङ्कको खाता नम्बर २०११००१७५०३९७० मा २ लाख र सिद्धार्थ बैङ्कको खाता नम्बर ५५५०८८३०७३० मा ५० हजार रुपैयाँ ट्रान्सफर गरेको देखिएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए । यी खाताहरू कसको हो भन्ने यकिन हुन सकेको छैन । 

घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा ह्याकरले रकम ट्रान्सफर गरेको बैङ्कका खाता रोक्का गर्न, के वाई सी विवरण र बैङ्क स्टेटमेन्ट माग गर्दै सम्बन्धित बैङ्कलाई पत्र पठाइएको भण्डारीले बताए । 

यता, खतिवडाले पैसा चोरी भएपछि सम्बन्धित बैङ्कमा सम्पर्क गर्दा बैङ्कले कुनै स्पष्ट जवाफ नदिएको गुनासो गरेका छन् । आफूले कुनै पनि ओटिपि पासवर्ड कसैलाई नदिएको उनले जिकिर गरेका छन् ।

‘मैले न पासवर्ड दिएको छु, न कोड पठाएको छु, कसरी पैसा गायब भयो?” उनले आक्रोश पोख्दै भने, ‘ यो बैङ्कको सिस्टमको कमजोरी हो । मेरो खाताको पैसा असुरक्षित छ ।’पासवर्ड बिना पैसा ट्रान्सफर हुनु बैङ्कको सुरक्षा प्रणालीकै कमजोरी भएको खतिवडाले बताए । 

आज शनिवार भएकाले बैङ्कसँग थप कुराकानी हुन नपाएको उनले बताए । अनुसन्धान अगाडी बढाएको प्रहरीले आइतबार बैङ्क खुलेपछि रकम ट्रान्सफर भएका बैङ्कको विस्तृत विवरण प्राप्त भएपछि थप कुरा स्पष्ट हुने बताएको छ ।