सुनसरी । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा आधार शिविरमा महिनौँ हिउँमाथि टेन्ट राख्दा हिमनदीहरुलाई पनि असर परेको बताएका छन् । 

लामो समय आधार शिविरमा गरिने क्रियाकलापले हिमनदीहरु सुक्दै गएको उनले बताए । 

७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस समारोहमा विशेष अतिथिका रुपमा बोल्दै मुख्यमन्त्री कार्कीले सगरमाथा आधार शिविरमा भइरहेका विभिन्न क्रियाकलापहरूका कारण हिमाललाई असर परिरहेको बताए । 

‘तल्लो टटीय क्षेत्रमा तापक्रम वृद्धिका अनेकौँ असरहरु देखा परिरहेका छन्। बर्सेनि नदी कटानका चपेटामा परिरहेका छौँ। क्याम्पहरुमा हुने गरेको हिटिङ सिस्टम र सोलारको बढ्दो प्रयोगजस्ता क्रियाकलापहरुबाट पर्ने असरको मूल्यांकन गरेर अघि बढ्नुपर्ने भएको छ,’ उनले भने । 

सगरमाथामा फोहोर व्यवस्थापनको कार्य पनि जटिल बन्दै गइरहेको कार्कीले बताए । 

कार्कीले आरोहणसम्बन्धी विद्यमान व्यवस्थाको बारेमा पनि सोच्नुपर्ने बेला आएको बताए । सगरमाथा कति मानिसले आरोहण गर्ने भनेर सीमा तोक्नुपर्छ कि भन्ने समय आएको उनको भनाइ थियो।

यस विषयमा अध्ययन गरेर अगाडि बढ्नका लागि नेपाल सरकार तथा संघीय सरकारका मन्त्रालयको उनले ध्यानाकर्षण गराए । 

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहणको विषयलाई हल्का बनाउन नहुने धारणा राखे। सगरमाथालाई सुन्दर र सुरक्षित राख्नुपर्नेमा उनको जोड थियो ।