विराटनगर । उद्योग सङ्गठन मोरङले विराटनगरमा सीप उत्सव २०८२ आयोजना गर्ने भएको छ ।
आगामी जेठ १० र ११ गते उत्सव आयोजना गरिने भएको हो । रोजगारदाता र रोजगारीको खोजीमा रहेको जनशक्तिलाई एकै ठाउँमा भेला गराई सीप विकाससँग सम्बन्धित विविध आयामहरूको बारेमा उजागर गर्न उत्सव आयोजना गर्न लागिएको उद्योग सङ्गठन मोरङले जानकारी दिएको छ ।
सीप उत्सवको माध्यमबाट तालिम प्रदायक, उद्योग प्रतिष्ठानहरू, नेपाल सरकारका सरोकारवाला पक्षहरू र प्रशिक्षार्थीहरू बीचको समन्वयमा आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन, उत्पादित जनशक्तिलाई रोजगारका अवसरको सुनिश्चितताका गर्न सीप उत्सव आयोजना गर्न लागिएको सङ्गठनले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
उद्योग सङ्गठन मोरङको आयोजना, इन्स्योर हेल्भेटासको प्राविधिक सहयोग र सामाजिक विकास मन्त्रालयको समन्वय, निजी क्षेत्रको नेतृत्वमा सीप, दक्षता प्रदर्शन तथा वृत्ति परामर्श करियर काउन्सेलिङ र अनुभव साटासाट गर्ने अभिप्रायका सीप उत्सव आयोजना गरिएको सङ्गठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए ।
मिति २०८२ वैशाख २२ गते देखि ३० गते सम्म कोसी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका ११ वटा अन्टरप्रेनरसीप कार्यक्रम सञ्चालन हुने प्राविधिक शिक्षालयहरू मध्ये सूचना प्रविधि, अटोमोवाइल र होटल व्यवस्थापन अध्यापन हुने ७ वटा शिक्षालयमा सम्बन्धित शिक्षालयका प्रशिक्षार्थीहरू बिच आन्तरिक प्रतिस्पर्धा गराई पहिलो र दोस्रो हुनेलाई प्रदेश स्तरीय सीप उत्सव २०८२ मा प्रतिस्पर्धामा सहभागी हुने उनले जानकारी दिए ।
यसरी सहभागी हुनेहरूमा सूचना प्रविधिमा १० जना, अटोमोवाईलमा ४ जना र होटल व्यवस्थापनमा ४ जना गरी जम्मा १८ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनौट गरिएको छ, सुरानाले भने, हरेक शिक्षालयबाट प्रथम र द्वितीय स्थान हासिल गर्ने विजेताहरूलाई “कोसी प्रदेश स्किल आइकन उपाधि प्रदान गरिनेछ।
सीप उत्सवमा पूर्व वाल विकास सहजकर्ता, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा प्रत्यक्ष तालिमका साथै एक हजारभन्दा बढी विद्यार्थी युवाहरूको करियर काउन्सेलिङ सत्रहरू आयोजना गरिने आयोजकको दाबी छ।
उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन, इलेक्ट्रिकल इन्जिनियरिङ र अटो मोबाइल इन्जिनियरिङतर्फका विद्यार्थीहरू, उद्योग प्रतिष्ठानका प्रतिनिधिहरू, प्राविधिक शिक्षालयहरू, सूचना प्रविधि, हस्पिटालिटी, अटोमोवाईलका क्षेत्रहरू सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।