विराटनगर । कोसी प्रदेश सभाको शून्य समयमा सांसद दुर्घटनामा परेको  बारेमा स्वास्थ्य लाभको कामनासँगै मल खाद, विद्युत् कटौती लगायतको विषयहरू उठान गरेका छन् । सातौँ अधिवेशनको तेस्रो प्रदेश सभाको बैठकमा  सांसदहरूले किसान, उद्योगी व्यवसायी लगायतको समस्यालाई प्राथमिकताका साथ  प्रस्तुत गरे । झापाकी सांसद सविना बजगाईँले विद्युत् प्राधिकरणले पटक पटक विद्युत् कटौतीको कारण  नागरिकले सास्ती पाएको बताइन् । अर्का सांसद गोपालबहादुर विश्वकर्माले अहिले किसानले खाद मल नपाएको बताए । मल खाद अभावको कारण किसानलाई बोर्डरमा प्रहरीले दुख दिएको बताए । किसानले मल  खादको समस्या झेली रहेको अवस्थामा समेत नीति तथा कार्यक्रममा मल खादको विषय नआएको आरोप लगाए । ’सरकारले किसान, मजदुर र नागरिकलाई हुने खालको काम नगरेकै कारण प्रदेश काम छैन भनेर सर्वसाधारणले भन्दा कान थोत्रो भएको हो‘, उनले भने ।
इलामकी सांसद खगेश्वरी पौडेलले कोसी प्रदेशका सांसदहरू दुर्घटनामा परेको विषय उठाइन् ।  विद्या चाम्लिङ निक्कै घाइते भएको भन्ने कुरा आएकोले स्वास्थ्य लाभको कामना गरिन् ।  मिना श्रेष्ठले समेत सांसदहरूको स्वास्थ्य लाभको कामना गरिन् । धनकुटाका सांसद इन्द्रमणी पराजुलीले धनकुटाको महालक्ष्मी नगरपालिका ९ मा वैशाख ३१ गते भएको आगलागीमा परि ३ वटा घर नष्ट भएको जानकारी दिए । सामान्य किसान परिवारको अहिले पनि बिचल्ली रहेकोले  राहत पाउने व्यवस्था तत्काल मिलाउन सरकारसँग आग्रह गरे । अर्की सांसद शिला दीक्षित कार्कीले विराटनगरका अधिकांश अस्पतालहरूको आफ्नो पार्किङ स्थल नभएको सुनाइन् ।  उनले विराटनगरमा छुट्टै जलन अस्पताल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराइन् । 
सुनसरीका सांसद रमेश बस्नेतले कामकै सिलसिलामा प्रदेश सभा तर्फ आएका सांसदले उनीहरूको उपचारमा ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराए । स्थानीय सेवा सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक असाध्यै राम्रो भनिएको थियो तर अहिले कानुन कार्यान्वयनमा जटिलता आएको उनले बताए । संसद् शोभा चेम्जोङले समेत विद्युत् झ्याप्प झ्याप्प जाने गरेको बताइन्  । अहिले निक्कै समस्या देखिएकोले उद्योगहरूलाई विद्युत् आपूर्तिको समस्याको कारण उत्पादनमा नै  असहज अवस्था सिर्जना भएको बताइन्  ।
पाँचथरका सांसद कमलप्रसाद जबेगुले विगत २ वर्षमा ५ वटा पुल र यो वर्ष २ वटा पुलहरू बाढीले बगाएको बताए ।  ‘फालेलुङमा मात्रै अहिले २३६ घर विस्थापित छन्, उनले भने, यो वर्ष पनि वर्षा सुरु भएको छ, उनीहरूको पुन स्थापना कहिले गर्ने, यो पालिकालाई बेवास्ता गरिएको हो ?’