विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सोमवार प्रदेश सभामा प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि लगायत अन्य पूर्वाधार र नीतिगत संरचनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको जानकारी दिनुभएको छ ।
भौतिक पूर्वाधार र नीतिगत संरचना निर्माणलाई उच्च प्राथमिकता दिई प्रदेशको दिगो विकासलाई जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कोसी प्रदेश लगानी सम्मेलनका उपलब्धिहरूलाई संस्थागत गरी सार्वजनिक, निजी, सहकारी, साझेदारी र निजी अवधारणामा परियोजना विकास र निर्माण गर्न संस्थागत र नीतिगत सुधार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कोसी पर्यटन वर्ष २०८२ लाई पर्यटन विकासको आधार वर्षको रूपमा लिइ नीतिगत, संरचनागत र पर्यटकीय पूर्वाधार विकास गर्दै राष्ट्रिय पुँजी निर्माण गर्ने नीति तथा कार्यक्रमले भनेको छ । कोसी प्रदेश सुशासन प्रवर्द्धन र शासकीय सुधारमा जोड दिई प्रदेश केन्द्रित सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रमले २०७६ साल यता प्रदेश र स्थानीय तहमा नियुक्त कर्मचारीहरूका लागि योगदानमा आधारित निवृत्त कोष सञ्चालन गर्ने भनेको छ । विद्युतीय डाटा सेन्टरको पूर्वाधार विकास गर्ने, लगानीको वातावरणलाई सहज र सरल बनाउन एकल बिन्दु सेवा केन्द्रबाट सेवा प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रादेशिक सङ्ग्रहालय निर्माण गर्ने तथा मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा व्यवस्था गर्ने समेत नीति तथा कार्यक्रमले घोषणा गरेको छ ।
प्रदेश संरचनाका लागि सरकारी भवन बनाउने, दुई वा दुई भन्दा बढी स्थानीय तहको सहकार्यमा फोहोर व्यवस्थापन गर्ने कार्यलाई अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
वृहत विराट विकास क्षेत्रको अवधारणालाई कार्यान्वयन गर्ने, सेवा प्रवाहलाई सरल, सुलभ गुणस्तरीय र प्रभावकारी बनाउन सडक, भवन र सहरी विकासलाई एकीकृत रुपमम प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।