सुनसरी । पूर्वको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रधाममा शुक्रबारदेखि कात्तिके मेला सुरु भएको छ । प्रत्येक वर्ष हरिबोधनी एकादशीको अवसर पारेर लाग्ने मेलामा नेपालका विभिन्न जिल्लासहित भारत र भुटानबाट समेत श्रद्धालु भक्तजन आउने गरेका छन् ।

मंसिर ८ गतेसम्म सञ्चालन हुने मेलामा दर्शन तथा पूजाआराधना गर्न ठूलो संख्यामा भक्तजन आउने अपेक्षा गरिएको छ । मेला व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको संयोजकत्वमा ११ सदस्यीय मूल समिति गठन गरिएको छ ।

मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न विषयगत उपसमितिसमेत गठन गरिएको बृहत्तर बराहक्षेत्र विकास समितिका कार्यकारी निर्देशक अबिजाल बिष्टले जानकारी दिए । उनका अनुसार मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ ।

कोशी नदी र कोकाह खोलाको संगमस्थलमा अवस्थित बराहक्षेत्रधाम हिन्दु धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल हो । भगवान् विष्णुको वराह अवतारसँग जोडिएको यस धार्मिक स्थलमा हरिबोधनी एकादशीका दिन स्नान तथा पूजाआराधना गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

हरेक वर्ष कात्तिके मेलाका अवसरमा बराहक्षेत्रमा हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ । भारत र भुटानबाट समेत भक्तजन आउने भएकाले मेलाले धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ । मेलाका कारण स्थानीय बजार, होटल तथा पर्यटन व्यवसायसमेत चलायमान हुने अपेक्षा गरिएको छ ।