विराटनगर । प्रेस चौतारी मोरङको आयोजनामा तीनदिने `डिजिटल मिडिया र एआई´ सम्बन्धी तालिम विराटनगरमा  सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाकाे सहयोगमा जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको तालिममा जिल्लाका पत्रकार, तथा संचारकर्मीकाे  उपस्थिति रहेको थियो।
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले पत्रकारले आफ्नो  क्षमता विकाससँगै सञ्चारकर्मीहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गर्न यस्तो तालिम समय सान्दर्भिक र आवश्यक रहेको बताइन्। “महानगरपालिकाले आवश्यकताको आधारमा यस्ता तालिमहरू नियमितरूपमा सञ्चालन गर्न तयार छ´, उनले भनिन्, `पत्रकारिता तथ्य र प्रमाणमा आधारित हुनुपर्छ, गल्ती औँल्याउने पक्षपनि जिम्मेवार हुनुपर्छ।”
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुमन सुस्केराले बदलिंदो सञ्चार परिवेशमा पत्रकारिताको शैली पनि परिवर्तन भइरहेकाले नयाँ चुनौतीहरूसँग जुध्न सक्ने क्षमता पत्रकारमा हुनुपर्ने बताए। “विचार व्यक्त गर्ने स्वतन्त्रता रहन्छ, तर पत्रकारिता तथ्यमा आधारित हुनैपर्छ,” उनले भने। प्रेस चौतारी नेपालले यो वर्षलाई प्रशिक्षण वर्ष को रूपमा लिएको जानकारी दिँदै आगामी दिनमा अझ संगठनात्मक र पत्रकारका लागि आवश्यक पर्ने प्राविधिक तालिमहरू सञ्चालन गरिने जनाएको छ।
त्यस्तै, प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष सुमन पुरी, प्रेस चौतारी मोरङका संस्थापक अध्यक्ष दिपेन न्यौपाने, सञ्चारिका समूह कोशी महासचिव जुनु भट्टराई लगायतले तालिमको आवश्यकता र प्रभावबारे आ-आफ्नो धारणा राखेका थिए।
प्रशिक्षार्थी रेजिना भट्टराईले एआईसम्बन्धी विषयवस्तुहरू जीवन र पेशासँग प्रत्यक्ष रूपमा जोडिएको अनुभव सुनाइन् । अर्का प्रशिक्षार्थी तेजेन्द्र भण्डारीले डिजिटल मिडियासम्बन्धी सिकाइहरू, फोटो, भिडियो तथा समाचार निर्माण सीप, अत्यन्तै उपयोगी र व्यावहारिक भएको बताए।
कार्यक्रमको अध्यक्षता प्रेस चौतारी मोरङका अध्यक्ष चिना थापाले गरेकी थिइन् । उनले तालिममार्फत पत्रकारहरूलाई डिजिटल प्लेटफर्म र नयाँ प्रविधिमा अपडेट गराउने लक्ष्य अनुसारको तालिम दिइएको बताइन् ।