विराटनगर । पछिल्लो समय कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनलाई सुरक्षा थ्रेटको रूपमा लिइएको छ । विराटनगरमा आज सुरु भएको सुरक्षा समितिको बैठकमा पहिचानको आन्दोलन सुरक्षा चुनौतीको रूपमा रहेको निष्कर्ष निकालिएको छ ।
बैठकमा प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित तीन वटै सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । प्रदेशको नामकरणपछि कोशी प्रदेशमा पहिचानको आन्दोलन उत्कर्षमा पुगेको छ । पहिचानको आन्दोलनका क्रममा यसअघि प्रदेशमा विभिन्न स्थानमा आन्दोलन हुँदै आएका छन् ।
आन्दोलन हिंसात्मक भएकाले पनि पहिचानको आन्दोलन प्रदेशको सुरक्षा चुनौतीको रूपमा रहेको गृहमन्त्री रमेश लेखकले बताए ।
सुरक्षा समितिको बैठक चलिरहँदा प्रेस युनियनले यहाँ गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने, ‘अहिले पहिचान स्थापित गर्नुपर्छ भनेर विचारहरू उठेका छन् । यो विचारले पनि प्रदेशमा सुरक्षा चुनौती रहेको बैठकमा निष्कर्ष निकालिएको छ ।’
उनले ठाउँठाउँमा विकास निर्माणको विषयमा समेत विवादहरू रहेको बताए ।
उनले भने, ‘विकास निर्माणका विषय पनि पहिचानको आन्दोलनसँग जोडिएको छ । यस्ता खालका आन्दोलनका कारण सुरक्षा चुनौती रहेको छ ।’
गृहमन्त्री लेखकले राजतन्त्र ल्याउने विषयमा गरिरहेका आन्दोलनका विषयमा पनि बैठकमा समीक्षा भएको बताए ।
उनले भने, ‘केही मान्छेहरू पूर्वराजालाई राजा बनाउनुपर्छ र राजतन्त्र फर्काउनुपर्छ भनेर लागेका छन् । यस विषयमा पनि बैठकमा छलफल भएको छ ।’
संविधानविरोधी गतिविधिहरुलाई सरकारले सहन गर्न नसक्ने बताउँदै गृहमन्त्री लेखकले भने, ‘संविधानको रक्षा गर्ने कुरामा सरकार अगाडि बढ्नेछ । सरकार संविधानको रक्षाको लागि अगाडि बढ्छ ।’ उनले राजनीतिक रूपले र प्रशासकीय रूपले नै संविधानको रक्षा गर्न सरकार लाग्ने निष्कर्ष निकालिएको बताए ।