विराटनगर । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका विषय तय गर्न संयुक्त कार्यदल बनाउने तयारी भइरहेको बताएका छन् । 

संविधान संशोधन अपरिहार्य देखिएको बताउँदै गृहमन्त्री लेखकले सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा एमाले बीच संयुक्त कार्यदल नै गठन गरेर संशोधन योग्य विषयहरुको पहिचान गर्ने विषयमा छलफल भएको बताएका छन् । 

नेपाल प्रेस युनियन मोरङद्वारा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने, ‘संविधान कार्यान्वयनको दशकपछि अभ्यासका क्रममा देखिएका कमजोरीहरुको विश्लेषण गरेर सुधार गर्न संशोधन अपरिहार्य भैसकेको छ । यसका लागि नेकपा एमाले र नेपाली कांग्रेसबीच संयुक्त कार्यदल गठनको विषयमा छलफल भइरहेको छ ।’ 

प्रहरी समायोजन गर्ने विषय आफ्नो प्राथमिकताको विषय भएको गृहमन्त्रीले लेखकले बताए । 

प्रहरी समायोजन र नागरिकता ऐन संशोधनको लागि समितिमा अड्किएको भन्दै गृहमन्त्री लेखकले असुन्तुष्टि पनि व्यक्त गरे । 

‘ मैले दुवै विधेयक संशोधनका लागि फुल सदनमै पेश गर्ने भनेको हो, तर साथीहरुले मान्नु भएन, समितिमा पहिले छलफल गरौँ भन्नु भयो ।’ उनले भने,‘ दुवै ऐन समितिमा छन् । अब समितिले छलफल गरेर कहिले संसदमा पेश गर्छ त्यो संसदको क्षेत्राधिकारको विषय भयो । हामीले पटक पटक छलफल गरौँ भनेर पहल गरिरहेका छौँ । ’

समितिमा छलफल नभएको विषयमा उनले असन्तुष्टि प्रकट गरे । 

‘संसद्को अधिकारलाई मन्त्रीले केही गर्न सक्दैन’, उनले भने, ‘विधेयक अहिले समितिमा रहेकोले समितिबाट आउने वितिकै अघि बढ्छ । ’

७० वर्ष पुरानो कानुन र नियमावलीको आधारमा प्रहरी चलिरहेको उनले बताए । 

प्रहरी संगठनलाई व्यवसायिक, स्थिर र अनुमानयोग्य बनाउने कार्य सुरु गरिएको भन्दै उनले अहिले प्रहरी ऐन, नागरिकता ऐन र सशस्त्र प्रहरी ऐन राज्य व्यवस्था समितिमा विचाराधीन अवस्थामा रहेको उल्लेख गरे।