विराटनगर । झापामा खुकुरी प्रहार गरी श्रीमतिको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतिको हत्या आरोपमा प्रहरीले श्रीमान कनकाई नगरपालिका–२ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनलाई पक्राउ गरेको हो । 

शनिबार राती हेमरनले श्रीमति ३४ वर्षीया पुजा हेमरनलाई खुकरी प्रहार गरेका थिए । घरायसी कुरामा विवाद भएपछि श्रीमान हेमरनले श्रीमतिलाई खुकुरीले घाँटीमा प्रहार गरेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न श्रीमान हेमरनलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको प्रदेश प्रहरी कार्यायल विराटनगरले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । 

यस्तै, श्रीमतिले कोदालो प्रहार गरी गम्भिर घाइते भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ का ५१ वर्षीय पाँचकर्ण राईको उपचारको क्रममा मृत्यु भएको छ । घरायसी कुरा विवाद हुँदा श्रीमति ५३ बर्षीया रेनुका राईले कोदालोको पासाले टाउकोमा प्रहार गरेकी थिईन् ।  

राईको काठमाण्डौँ स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । घटनामा संलग्न श्रीमती रेनुकालाई खोटाङ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।