विराटनगर ।नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ कोशी प्रदेश सरकार एकलौटी ढङ्गले चलेको भन्दै सत्तामा बस्नु भन्दा प्रतिपक्षमा बस्नु ठिक भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रमुख सचेतक तामाङले सरकार एकलौटी ढङ्गले चलेको आरोप समेत लगाएका छन् ।
उनले लेखेका छन्,‘कोशी प्रदेश सरकारको एकलौटी रवैया प्रति घोर विमति छ । तामाङ नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाका विश्वास पात्र मानिन्छन् । उनले सरकारले एकलौटी ढङ्गले काम गरेको भन्दै सरकारमा रहनु भन्दा प्रतिपक्षमा बस्नु राम्रो भएको बताएका छन् ।
उनले लेखेका छन्,‘यस्तो सरकारमा रहनु भन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु । सांसद तामाङले लेखेको स्ट्याटस प्रदेश सभापति उद्धव थापा,झापा सभापति देउमान थेबे, झापा १ का सभापति इन्द्र बुढाथोकी लगायतका नेतालाई ट्याग गरेका छन्।
कोशी प्रदेशमा नेपाली काँग्रेस र एमालेका बिचमा सत्ता गठबन्धन छ । प्रदेशमा नेपाली काँग्रेसका तर्फबाट तीन जना मन्त्री सरकारमा छन् । काँग्रेसले भौतिक पूर्वाधार, कृषि तथा सहकारी, पर्यटन बन तथा वातावरण र स्वास्थ्य मन्त्रालय सम्हालेको छ ।
भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने भूपेन्द्र राईले सम्हालेका छन् ।
कोशीमा एमालेले मुख्यमन्त्री सहित आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र खानेपानी मन्त्रालयको नेतृत्व गरेको छ ।
सत्तामा रहेको नेपाली काँग्रेसका प्रमुख सचेतक तामाङले सरकारले गरिरहेको कामका कारण आफूले टिप्पणी गरेको बताए । उनले नेपाल प्रेससँग भने, ‘यो मेरो व्यक्तिगत विचार हो । मलाई सरकारले गरेको कामका बारेमा लेखेको हो । यो दलको धारणा होइन ।’
पार्टीका झापा सभापति देउमान थेबेले समेत केही दिन अघि झापामा सहकारी सङ्घको चुनावमा नेकपा एमालेसँगको सहकार्यलाई लिएर असन्तोष प्रकट गरेका थिए । उनले विज्ञप्ति नै प्रकाशित गरेका थिए ।