विराटनगर । कोशी प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको तयारी पुरा भएको छ । कोशी प्रदेश लगानी प्राधिकरणले सम्मेलनको तयारी पुरा भएको कार्यकारी निर्देशक डा.सरोज कोइरालाले जानकारी दिए ।
वैशाख १८ र १९ गते वीरेन्द्र सभागृहमा आयोजना हुने लगानी सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए ।
सम्मेलनमा १ खर्ब ७१ अर्बका ७१ वटा परियोजनाहरू सोकेस गरिँदै छ । जसमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापन लगायत शीर्षकका परियोजना समेटिएका छन् ।
लगानी सम्मेलनको लागि कृषितर्फ ४७० करोड, ऊर्जा क्षेत्रमा २७७ करोड, औद्योगिक क्षेत्रमा ६५ अर्ब ४० करोड, पूर्वाधारतर्फ ३१ अर्ब १ करोड, आइटीतर्फ ४७ करोड, पर्यटनतर्फ ३५ अर्ब ९७ करोड लगानी भित्र्याउने सरकारको लक्ष्य छ ।
सम्मेलनमार्फत कोशीका ११ वटा पहाडी जिल्लामा कोदोको रक्सी उद्योग स्थापनाका लागि लगानी जुटाउने लक्ष्य राखिएको छ । मल्टिपर्पोज कमर्सियल कम्प्लेक्स, फाइभ स्टार होटल, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, कोशी पोडवे पूर्वाधार निर्माण, विद्युतीय सवारी उद्योग, डाटा सेन्टर स्थापना, डिजिटल कोशीका लागि पूर्वाधार, बेतना सिमसार टुरिजम प्रोजेक्टलगायतका योजना मोरङ छन् ।
सुनसरीमा एग्रो प्रोसेसिङ उद्योग, बर्जू ताल टुरिजम प्रोजेक्ट, रास ताल टुरिजम प्रोजेक्ट, वाटर पार्क निर्माण, कोशी रिफ्रेसमेन्ट सेन्टर र ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर प्रोजेक्टलगायत परियोजना प्रस्तुत हुनेछन् ।
यस्तै उदयपुरमा क्लिंकर प्रोजेक्ट, ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, झापामा बायो फर्टिलाइजर प्रोडक्सन एन्ड रिसर्च उद्योग, काँकडभिट्टा बसपार्क, मेचीनगरमा इन्टरग्रेटेड सोलिड वेस्ट म्यानेजमेन्ट प्रोजेक्ट, इलाममा देउमाई कफी फार्म, डेरी प्रोडक्ड एन्ड प्रोसेसिङ उद्योग, कन्याम–श्रीअन्तु केबलकार, बुद्ध पार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्टलगायत योजना छन् ।
धनकुटामा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग एग्रो टुरिजम, साँघुरीगढीमा किवी फार्मिङ प्रोसेसिङ उद्योग, एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, भेडेटारमा मल्टिपर्पोज कम्प्लेक्स, राजाताल टुरिजम प्रोजेक्टलगायत योजना छन् ।
सोलुखुम्बुमा मिनी हाइड्रो परियोजना, चिउरी खर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकारको योजना राखिएको छ । यस्तै, खोटाङमा हलेसी केबलकार–पोडवे निर्माण गर्ने प्रोजेक्ट सम्मेलनमा प्रस्तुत हुनेछ ।
लगानी सम्मेलनका लागि प्रदेश सरकारले ३ करोड बजेट छुटाएको छ ।