विराटनगर । पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ आन्दोलनरत पक्ष र सरकार बीच आज भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । आन्दोलनरत पक्षले सरकारबाट सहमति कार्यान्वयन नभएको भन्दै उच्च राजनितिक नेतृत्वसँग मात्रै वार्ता गर्ने अडान लिएपछि आजको वार्ता निष्कर्ष विना नै सकिएको हो ।  

यसअघि वार्तामा भएका सहमति कार्यान्वयन नभएकाले उच्च स्तरीय राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने माग सम्बोधन नभएपछि वार्ता विना निष्कर्ष सकिएको वार्ता सहजीकरण समितिका संयोजक अमर तुम्याहाङ्गले जानकारी दिए । 

यसअघि अघिल्लो आइतबार वार्ता भएको थियो । राति अबेर सम्म भएको वार्तामा निष्कर्षमा पुग्न नसकेपछि आज(सोमबार)का लागि वार्तामा बस्ने सहमति भएको थियो । 

सरकारले वार्ता टोली गठन गरेपछि नो केवकार समूहले गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित भएको थियो । अघिल्लो वार्ताको सहमति अनुसार आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई विना शर्त छाड्ने सहमति भएको थियो । तर सहमति विपरीत धरौटीमा तारिखमा छाडिएको आन्दोलनरत पक्षले जनाएको छ  ।

सरकारले नो कवेलकार पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सह सचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । सरकारले वार्ता टोली गठन गरि आन्दोलनरत पक्षलाई औपचारिक वार्ताकालागि आव्हान गरेसँगै आन्दोलनरत पक्षले पनि अमर तुम्याहाङ्गको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

दुवै पक्ष बीचको पहिलो चरणको वार्ता सकारात्मक भएपनि दोस्रो चरणको वार्ता भने सकारात्मक हुन नसकेको आन्दोलनरत पक्षले जनाएका छन् ।