विराटनगर । आइतबार बिहान करिब ७४० बजेतिर एउटा रिक्सा  नेपाल भारत सीमा क्षेत्र जोगवनीबाट नेपाल तर्फ आउँदै थियो । सिटी रिक्सामा दुई जना व्यक्ति थिए । बिहानी समय भएकोले नाकाबाट आउजाउ कमै हुन्छ । त्यो समय रेलबाट आउने मान्छेहरूको निक्कै भिडभाड नै थियो ।  सामान किन्न आउजाउ कम भएकोले पनि सीमा जोगवनी तिर जाने भन्दा पनि नेपाल आउनेको सङ्ख्या धेरै थियो । त्यसको कारण भनेको रेलबाट नेपाल तर्फ आउनेहरूको सङ्ख्या नै हो । आउँदै गरेको त्यो सिटी रिक्सा तर्फ सशस्त्र प्रहरीको ध्यान गयो ।  त्यो सिटी रिक्सालाई सशस्त्र प्रहरीले रानी भन्सार नजिकैको २ नम्बर ढाटमा रोक्यो  । 
सशस्त्र प्रहरीले खोजतलास गर्न थालेपछि सिटी चढेर आएको पुरुष व्यक्ति अलमलिए । महिलालाई त्यो व्यक्तिले यसमा चिनी छ भन्नु भन्दै कर गर्न थाले । महिलाले त्यही भन्दै गइन् । सशस्त्र प्रहरीले कपडाको भिर्ने झोला खोल्न लगायो । झोला भित्र फरक प्रकृतिको सामान फेला पार्‍यो । त्यो झोला खोजतलास गर्दा सशस्त्र प्रहरीले ठुलो मात्रामा मानव खप्पर र नली खुट्टाहरू फेला परेको थियो । भारतबाट नेपाल तर्फ ल्याएको उक्त मानव कङ्काल देख्ने बित्तिकै सशस्त्र प्रहरीका जवानहरू नै एक पटक तर्सिएका थिए । टिमको नेतृत्व सशस्त्र प्रहरी नायव निरीक्षक (सई) प्रकाश दाहालले गरेका थिए । उनी सहितका अन्य ७ जनाको टोली त्यहाँ परिचालित थियो ।  अनुसन्धानको क्रममा सशस्त्र प्रहरीले ३८ थान मानव खप्पर र १० वटा नली खुट्टा फेला परेको थियो ।  महिलालाई सोधी खोजी गर्दा त्यो सामान त्यही पुरुषले नाका कटाइदिन भनेपछि सशस्त्र प्रहरीले त्योसँगै आएकी महिलालाई छाडेको जनाएको छ ।  पक्राउ परेका पुरुष विराटनगर १७ का विनोद रायलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।  ४ हजार आफूले लिएर जोगवनीदेखि विराटनगर बसपार्कसम्म पुर्‍याउने गरी ल्याएको पक्राउ परेका व्यक्तिले प्रहरी समक्ष स्वीकारेका छन् । 
इलाका प्रहरी कार्यालय रानीमा राखेर त्यस व्यक्तिको बारेमा अनुसन्धान सुरु भएको छ । अनुसन्धानको क्रममा पक्राउ परेका राय २०७८ सालमा पनि यसै गरी मानव कङ्काल खप्पर र हड्डी सहित पक्राउ परेको पाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।  पहिला पनि पक्राउ परको यी व्यक्ति नियन्त्रणमा लिएर पछि कारबाहीको लागि कानुनी आधार नभएपछि छाडिएका व्यक्ति हुन् ।  यिनै व्यक्तिले २०७८ साल असोजमा सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाट नजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको थियो ।
यी व्यक्तिले ल्याएको मानव खप्पर र हड्डीहरू शिवरात्रिमा साधुहरूले माग गर्ने गरेकोले प्रहरीमा बताएका छन् ।  त्यस्तै यस्ता नली खुट्टा धामी (लामा)हरुले बेला बेला मगाउने गरेको पनि ती व्यक्तिले अनुसन्धानको क्रममा बताएका छन् ।  पक्राउ परेका व्यक्तिलाई कानुनी दायरामा ल्याउनको लागि कानुनी प्रक्रियाको बारेमा कुनै पनि टुङ्गो लागिसकेको छैन । यस बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।