सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधेको पत्रको जवाफ ठेट र उटपट्याङ शैलीमा दिएका छन ।
माघ २ गतेको पत्रको जवाफ भन्दै साम्पाङले शुक्रबार अख्तियारलाई पठाएको पत्रमा धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएको जनाउँदै यसले नगरबासीलाई पानीको आपूर्ति गर्न सबैखाले विधि अपनाउन सक्ने उल्लेख गरेका छन ।
’बिहान उठ्ने बित्तिकै टोइलेट जानुपर्छ पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला’, उनले अख्तियारलाई पठाएको जवाफी पत्रमा लेखिएको छ, ’केही छिनपछि भात पकाउनु परो । भात पकाउन पानी चाहिन्छ । भात खाएपछि हातमुख चुठ्नुपरो त्यसको लागि नि पानी चाहिन्छ । जुठोभाँडा लडाइराख्न मिलेन धुनै परो त्यसका लागि नि पानी नै चाहिन्छ ।’
पानीको प्रयोग कहाँ–कहाँ हुन्छ भन्ने सबै उल्लेख गर्दै मेयर राईले पत्रमा बेलिबिस्तार लगाएका छन । उनले पत्रमा आफूले श्रमदान गरेर कसरी पानी ल्याइयो भन्ने सबिस्तार वर्णन गरेका छन । कोशीको पानी धरानलाई दिन्छु भन्ने सिंहदरबारले वर्षौंदेखि बिन्ति बिसाउँदा पनि नसुनेकाले भोजे गाग्री लिएर सिंहदरबार पुगेको समेत उनले उल्लेख गरेका छन ।
’जनतालाई पानी चाहिएको छ है तत्कालै पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के,’ उहाँको पत्रमा छ, ’त्यसैले हाम्ले श्रमदान गर्नुपरेको हौ…खोई कुरा बुझ्या ।’
उनले श्रमदानमा अनियमितता भयो भन्दै वाइयात उजुरी दिनेले कतिवटा पाइप किनेर दियो, कति श्रमदान गर्यो भन्दै प्रश्न समेत गरेका छन । उनले अख्तियारलाई कोकाहा खानेपानी श्रमायोजन–२ चलिरहेको जनाउँदै लेखेका छन ’एक दिन आउनु है मुहानबाट धरानसम्म हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न । कम्ता रमाइलो छैन ।’
मेयर साम्पाङले पानीमा राजनीति गर्नु हुँदैन भन्दै ’पानी माग्न जनता त्यता आउलान् है फेरि !’ अख्तियारलाई लेखेको पत्रको अन्तिममा लेखेका छन ।