विराटनगर । पछिल्लो समय कोशी प्रदेशका विभिन्न जिल्लाबाट गाँजाको कारोबार बढेको पाइएको छ। त्यसमा पनि प्रहरीले एम्बुलेन्स, मारुती भ्यान तथा स्कारपियोमा नै गाँजाको तस्करी हुने गरेको प्रहरीले जनाएको छ ।  मङ्गलवार राती मात्र प्रहरीले  गाँजा सहित एउटा स्कारपियो नियन्त्रणमा लिएको छ । मध्यरातमा स्कारपियो सहित १५५ किलो गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले जानकारी दिए । 
सुनसरीको धरानबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ९५८२ नम्बरको  स्कारपियोलाई विराटनगर महानगरपालिका १८ बाट नियन्त्रणमा लिएको हो । 
प्रहरीले स्कारपियोलाई चेकजाँच गरी रोक्न खोज्दा  नरोकी  पूर्व तर्फ भागेपछि प्रहरीले पिछा गरेर नियन्त्रणमा लिएको जनाएको छ। स्कारपियो नियन्त्रणमा लिने क्रममा १५५ किलो गाँजा पछाडिको भागमा लुकाएको अवस्थामा फेला परेको चिमरियाले पत्रकार सम्मेलनमा जानकारी दिए ।  प्रहरीले गाँजा सहित त्यसमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेहरूमा सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १२ का राहुल विश्वकर्मा र धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ६ का १९ वर्षीय सुरज राई रहेका छन्  । विश्वकर्मा गाडी चालक हुन् भनेँ राई गाडीमा सवार रहेको प्रहरीले जनाएको छ।