विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाको संसदीय समितिको सभापति छनौट कोलागि दलहरूको बिचमा सहमतिको अधिकतम प्रयास गरिने बताएका छन्  । नोमिनेशन हुनु भन्दा अगाडीसम्म दलहरूसँग फरक फरक छलफल गर्ने र सहमतिको अधिकतम प्रयास हुने बताएका हुन् ।  सोमबार बसेको कोशी प्रदेश सभा कार्यावस्था तथा परामर्श समितिको बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट भएको विलम्बको बटम लाइनको कारण भदौ २८ गतेलाई सभापति छान्ने प्रक्रिया अघि बढेको बताए ।  ‘पहिला पनि कोशी प्रदेशमा डेढ वर्ष ढिला भएको थियो, उनले भने, यो वर्ष पनि झन्डै दुई वर्ष ढिला भयो, अब यो भन्दा ढिला नगर्नकोलागि सभामुख ज्यूबाट प्रक्रिया सुरु भएको हो ।’ दसैँ अगाडी नै प्रदेश सभा रोकिने र त्यो रोकिने बित्तिकै हिउँदे अधिवेशनमा जाने भएकोले तोकिएको समयमा नै सभापति चयन हुने बताए । अधिकतम छलफलबाट सार्वजनिक लेखा समिति बाहेक पनि विपक्षीले समितिको सभापति पाउन सक्ने बताए ।