विराटनगर । कोशी प्रदेश सभामा लामो समयदेखि   अन्यौलता परेको संसदीय समितिको सभापति चयनको प्रक्रिया अघि बढ्ने भएको छ।  संसदीय समितिको सभापतिको निर्वाचन अघि बढाउने बारेमा कोशी प्रदेश सभा कार्य व्यवस्था तथा परामर्श समितिको सोमबार बसेको बैठकले सभापति छनौटको प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।  आगामी भदौ २८ गते प्रक्रिया सम्पन्न गरी समितिको सभापति चयन गरिने  बैठकले निर्णय गरेको हो ।  
दोस्रो प्रदेश सभाको निर्वाचनपछि प्रदेश सभाले सभापति छान्न सकेको थिएन । प्रदेश सभामा  दुई वर्षसम्म पनि  संसदीय समितिले पूर्णता पाउन नसकेको अवस्थामा सभापतिको छनौटको प्रक्रिया अघि बढाउन कार्य तालिका बनाएको हो ।  
प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले आगामी २८ गतेलाई संसदीय समितिको सभापति चयन कोलागि  निर्णय गरिएको जानकारी दिए ।सबै दलहरूले कुल सदस्य सङ्ख्यामा प्रतिनिधित्वको हिसाबले  फरक नपर्ने गरी समितिमा नरहेका सदस्यलाई सामेल गर्ने र हेरफेर गर्नु पर्ने भए  सो को समेत नामावली भदौ २६ गते ११ बजे सुरु हुने प्रदेश सभाको बैठकमा सुनाउने गरी सबै दलले २६ गते बिहान १० बजे भित्र सभामुखलाई पेस गर्न भनिएको छ।  समितिका सभापतिहरूको निर्वाचन भदौ २८ गते हुने र सोही दिन शपथ हुने  समितिले निर्णय गरेको हो ।
संसदीय समितिको सभापति छन्नकोलागि सभामुखले मिति तोकेको ४८ घण्टा अगाडि सचिवले जानकारी गराउने भन्ने प्रदेश सभा नियमावलीमा व्यवस्था गरिएको छ।  २०८०कात्तिक २२ गते प्रदेश सभाको संसदीय समिति गठन भएपछि त्यसयता ज्येष्ठ सदस्य समितिको सभापतिको भूमिकामा छन्  ।
कार्यावस्था समितिको बैठकमा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले सभापति चयनको प्रक्रिया २८ र २९ गते नपार्न आग्रह गरेकी थिइन् ।  उनले २७ देखि २९ गतेसम्म एकीकृत समाजवादी दलको तर्फबाट सहभागी हुन नसक्ने बारेमा सभामुखलाई जानकारी गराएकी थिइन् । जसपाकी सांसद निर्मला लिम्बुले २९ गतेसम्म सभापतिको निर्वाचन गर्नु नहुने प्रस्ताव राखिन् ।  दलहरूको बिचमा छलफल गरेर मात्रै समितिको सभापति छान्न तर्फ लाग्नु पर्नेमा उनले जोड दिइन् ।
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला तथा प्रमुख सचेतक सविना बजगाईँले लामो समयदेखि रोकिएको सभापति छान्ने प्रक्रियालाई सभामुखले तोकेको दिन भदौ २८ गते भित्रै सक्ने गरी प्रक्रिया अघि सार्न आग्रह गरेका थिए ।  राप्रपाले सबै दललाई समेटेर समिति बनाइनु पर्नेमा जोड दिएको छ। 
नेपाली काङ्ग्रेस संसदीयका उपनेता हिमाल कार्कीले सभापति छनौटको प्रक्रिया भदौ २८ भित्रै गर्नु पर्ने बताए  । उनले दुई वर्षदेखि समितिले सभापति नपाउँदा काम कारबाही प्रभावित भएको उल्लेख गरे । लामो समय सरकार हेरफेरमा बितेको बताउँदै कार्कीले समितिलाई पूर्णता दिएर जानू पर्नेमा जोड दिए । 

एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले भदौ २८ भित्रै सभापति छनौटको प्रक्रियामा लग्नु पर्ने बताए  । सहमति जुटाएर प्रक्रियामा जानुभन्दा पहिला प्रक्रियामा गएर सहमतिको प्रयास हुने बताए । सबै दलहरू सहभागी भएर नै समितिको सभापति चयन गर्ने प्रक्रिया सुरु हुने भएकोले त्यसको लागि पहिला प्रक्रिया सुरु गर्न उनको आग्रह थियो ।