विराटनगर । कोसी प्रदेशमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सांसदहरूको सनाखत सुरु भएको छ। कोसी प्रदेश प्रमुखको कार्यालयले  संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोसी प्रदेशको मुख्यमन्त्री नियुक्तिको लागि वैशाख २८ गते साँझ ५ बजेसम्म  कुनै प्रदेश सभा सदस्यलाई दाबी पेस गर्न आव्हान गरेको थियो । आव्हान भएको सूचना अनुसार कोसी प्रदेश सभाका ५२ जना सदस्यहरूको हस्ताक्षर सहित मुख्यमन्त्रीको नियुक्त गर्न माग गर्दै एमालेका सांसद हिक्मत कुमार कार्कीले दाबी पेस गरेपछि कोसी प्रदेश प्रमुखको कार्यालयले सनाखत  गराएको हो ।  प्रदेश सभा सदस्यहरूलाई आफ्नो परिचय खुल्ने प्रमाण सहित  प्रदेश प्रमुखको कार्यालयमा सनाखत गर्नको लागि दिउँसो १२ः३० बजेलाई बोलाइएकोमा सोही अनुसार सांसदहरूको सनाखत थालिएको कोसी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए ।  मुख्यमन्त्रीमा सनाखत गरिए लगत्तै कोसी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीलाई नियुक्त गर्ने तयारी प्रदेश प्रमुखको छ ।