सुनसरी प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ । बुधवार राति अबेर सूचना जारी गर्दै प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गर्नु भएको हो ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते शुक्रबार अपराह्न ५:०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

कोशी प्रदेशसभाका ५२ जना प्रदेशसभा सदस्यले गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको, वैशाख १० गते मुख्यमन्त्री कार्कीलाई ३० दिन भित्र विश्वासको मत लिन निर्देशन दिएको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा प्राप्त नभएको बेहोराको पत्र वैशाख २६ गते प्राप्त भएको भन्दै प्रदेश प्रमुख खापुङले नयाँ सरकारका लागि दुई दिनको समय दिएर प्रस्ताव आह्वान गर्नुभएको सूचना अधिकारी राम कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार केदार कार्की २०८० असोज २७ मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उपधारा ५ अन्तर्गत गठन भएको सरकारको बहिर्गमनको स्पष्ट व्यवस्था नहुँदा मुख्यमन्त्री कार्कीले २ वर्षसम्म आफू नेतृत्वको सरकारलाई कसैले केही गर्न नसक्ने भन्दै विश्वासको मत नलिने र राजीनामा पनि नगर्ने बताउँदै आउनु भएको थियो ।